Logo

भारतका सेनापति नरवाणेको नेपाल भ्रमणमा के होला ?



काठमाडौं, ४ कात्तिक । भारतका सेनापति एम. एस. नरवाणेको नेपाल भ्रमण निश्चित भइसकेको छ । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमण गर्ने तय भएको छ ।

नेपाली सेनाले भारतका सेनापति नरवाणे नेपाल भ्रमणमा कात्तिक महिनामै आउने पुष्टि गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले पनि दिपावलीलगत्तै नरवाणेले नेपाल भ्रमण गर्ने उल्लेख गरिसकेको छ ।

सेनापति नरवाणे फेब्रुअरी महिनामै नेपाल भ्रमणमा आउने तय भएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाका मानार्थ सेनापतिको पदवी ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । कोराना भाइरस महामारीका कारण भ्रमण स्थगित भयो । अहिले त्यही कार्यक्रमका लागि उनी तीन दिने नेपाल भ्रमणमा आउँदैछन् ।

नरवाणे नेपाल भ्रमणमा आउनलाग्दा दुई देशको सम्बन्धमा निकै उतारचढावहरु आइसकेको छ । विशेषगरी कालापानीको विषय गम्भीरताका साथ उठेको छ । नेपालले कालापानीसहितको भूभागलाई नयाँ नक्शा बनाएर समेटेको छ । भारतले आपत्ती जनाइसकेको छ ।

कालापानीको विषयलाई नेपालले उठाउँदा जनरल नरवाणेले सार्वजनिक रुपमा बोलेका थिए । उनले यसलाई नाम नतोकी कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । अहिले भारतको उत्तरी क्षेत्रमा चीनसँग सीमा समस्या छ । नेपालतर्फ पनि चीनले सैन्य गतिविधि बढाएको छ । हुम्लामा नेपाली भूमि अतिक्रमणको विषय उठेको छ ।

यसपटक नरवाणेको भ्रमण मानार्थ सेनापतिको पदवी ग्रहण गर्ने औपचारिकतामा मात्र सिमित नहुन सक्छ । उनले दुई देशको सीमा समस्याका बारे कुराकानी गर्न सक्छन् । भारतमा सीमाको मामला सेनाले हेर्ने गर्छ । अर्कोतर्फ उत्तरतर्फ चीनको बढ्दो सक्रियतालाई भारतले निकै चासोका साथ हेरेको छ । यस मामलामा पनि नरवाणेले छलफल गर्ने सम्भावना रहेको छ ।

भारतभित्र नेपालमा चीनको प्रभाव बढेको विषय नउठेको होइन । भारतका तीनवटै सेनाका प्रमुख जनरल विपित रावतले नेपाल चीनतर्फ ढल्कनै नसक्ने अभिव्यक्ति दिएका थिए । जनरल नरवाणेले पनि नेपालसँग भारतको निकट सम्बन्धलाई दृष्टिगत गरी यस्तै अभिव्यक्ति दिएका थिए । यसकारण पनि नेपालमा भारतको सुरक्षा चासोबारे पनि जनरल नरवाणेले द्विपक्षीय छलफलमा कुराकानी गर्न सक्छन् ।-फाइल तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्