Logo

‘यही सरकारजस्तै लापरवाही छ हाम्रो पार्टीको अहिलेको नेतृत्व पनि’ : पौडेल



काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमितको उपचार नगर्ने भनेर सरकारले गरेको निर्णयको विरोध गरे । र, सरकार यसरी आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनको टिप्पणी छ । हिजो (सोमबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने,यो चाहीँ सरकारको चरम गैरजिम्मेवारीपना हो । उनले आफ्नो पार्टीको अहिलेको नेतृत्व सरकारजस्तै लापरवाही रहेको पनि आरोप लगाए । पार्टी नेतृत्वले समयानुसार काम गर्न नसकेको उनको टिप्पणी छ । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सरकारले कोरोनाको उपचार पनि नगर्ने भनेर भन्यो, सरकार त जनताको उपचारबाट पन्छियो नि ? तपाईँको टिप्पणी के छे ?

यो चाहीँ सरकारको चरम गैरजिम्मेवारीपना हो । नेपालको संविधानमै हामीले समाजवादउन्मुख व्यवस्था उल्लेख गरेका छौं । अब कम्युनिष्ट पार्टीले त आफूलाई सबैभन्दा अग्रणी भनेर दाबी गर्छ । कम्युनिष्ट पार्टीको सरकार छ । आज यो देशको अदालतले भनेको छ, यो जिम्मेवारीबाट सरकार भाग्न पाउँदैन् । सबै नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्छ । आवश्यक स्वास्थ्य सेवा दिनु सरकारको कर्तव्य र दायित्व हो भनेर संविधानमै लेखेको छ । र, अदालतले भनेको छ । यस्तो अवस्थामा सरकारले अब यो महामारीको बेला अब हामी जनताको उपचार गर्न सक्दैनौं भनेर आफ्नो जिम्मेवारीबाट पन्छिनु यो भन्दा ठूलो अर्को गैरजिम्मवारीपना अर्को हुन सक्दैन् ।

संविधानको कुरा गर्दा र सर्वोच्च अदालतको आदेशको कुरा गर्दा सरकार जनताको उपचारबाट पन्छिएर सम्मानित अदालतको आदेशको पनि उल्लंघन गरेको छ भनेर धैरेले भनेका छन्, यस्तो बेलामा सरकारले जनतालाई साथ दिनुपर्दथ्यो । उपचार गर्नुपर्दथ्यो । तपाईँहरु सरकारलाई के भन्नुहुन्छ ? अब तपाईँहरु आन्दोलनमा जानुहुन्छ ?

बास्तवमा अहिले सरकारले एकातिर नचाहिँदो काममा खर्च बढाईरहेको छ । एकातिर दशैं के के देखाएर भत्ता बाँड्ने काम गरेको छ । राज्यको ढुकुटी बाँड्न तल्लिन छ । अर्कोतिर, जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने कुरामा चाहीँ सरकारले हात उठाएको छ । भनेपछि यहाँभन्दा ठूलो विडम्बना र विरोधाभाष अर्को केही हुन सक्दैन् । त्यसकारण चाहँी कम्युनिष्टहरु जनतालाई शब्दले यत्ति धेरै झुक्याउन र फकाउन सिपालु छन् । तर, काम गर्ने बेलामा उनीहरु कति फरक रहेछन् भन्ने कुरा पुष्टि भयो । कथनी र करणीमा कति भिन्न रहेछन, कति झुठको पोको रैछ भन्ने कुरा प्रमाणित भएको छ । हामी यसको विरुद्धमा छौं । सरकारले गरेका धेरै कुकर्महरु छन् । धेरै कमजोरी, भ्रष्टाचार भएको छ । कमिशनखोर र लुटतन्त्र भएको छ । यी सबै कुराको खिलाफमा नेपाली कांग्रेस सडकमा आउँछ । आज कोरोनाले गर्दा परिस्थितिले धेरै अप्ठ्यारो पारिरहेको छ । अब हामी आम जनतालाई साथ लिएरै आन्दोलन गर्छौं । जनतालाई हामीले यो कुरा भनिरहेका छौं । जनतालाई भनेर उनीहरुको विश्वास लिएर हामी सरकारको विरोधमा उत्रिन्छौं ।

तर, यहाँको पार्टीले त्यतातिर ध्यान दिएको छैन, कुनै छलफल र बैठक बस्न सकेको छैन् । तपाईँहरु किन चुकिरहनुभएको छ त ?

समस्या त यहाँनिर पनि छ । मैले त भन्दै आएको छु कि कुन समयमा के काम गर्नपर्ने हो, त्यो गर्नुपर्छ । गर्नुपर्ने काम नगर्ने अनि नगर्नपर्ने काम गर्ने, यस्तो उल्टो बुद्धि हाम्रो पार्टीको नेतृत्वले लिनुहुँदैन् । सभापतिको उल्टो बुद्धि हुनुभएन । नचाहिएको बेलामा अब विभाग चाहीँ गठन गर्ने, अब चाहीँ चाहिएको काम नगर्ने । अहिले महाधिवेशन सम्पन्न गर्नुपर्ने बेला छ । पार्टीको लागि जीवन र मरणको प्रश्न छ । नेतृत्व पार्टीको १४औं महाधिवेशनतर्फ गम्भीर देखिँदैन् । यही सरकारजस्तै लापरवाही छ हाम्रो नेतृत्व पनि ।

कांग्रेसको १४औं महाधिवेशन त अन्यौलमा पर्यो नि ? अब हुने कि नहुने महाधिवेशन बताउनुहोस त ?

नेपाली कांग्रेस भनेको लोकतन्त्रको पहरेदार हो । लोकतन्त्रकै उद्देश्य लिएर जन्मिएको पार्टी हो । नेपाली समाजलाई, नेपाल राष्टलाई र नेपाली जनतालाई लोकतान्त्रिक अधिकार दिलाउने यो चाहिने उद्देश्य लिएर हाम्रो पार्टी बनेको हो । तर, पार्टी आफ्नो उद्देश्यबाट नै विचलित हुन लागेको हो कि भन्ने समेत चिन्ता हुन थालेको छ । किनभने स्वतन्त्रता र लोकतन्त्र मुख्य आधार के हुन भने एउटा चाहीँ विधिको शासन । र, अर्को आवधिक निर्वाचन । विधिको शासन र आवद्यिक निर्वाचन लोकतन्त्रका मूलभूत आधार हुन् । स्तम्भ हुन । त्यसैमा अडेको हुन्छ लोकतन्त्र । आज त्यो कुरामा पनि हाम्रो पार्टीमा गम्भीरता मैले देखिरहेको छैन् । ती सामना गर्नुपर्ने चूनौति अगाडि छ । यत्रो बेथिति, यस्तो मनलागी र निरंकुशता र यो सर्वसत्तावादतर्फ कम्युनिष्टले देशलाई लान खोजिरहेका छन् । अब आफ्नो मन परेकालाई जथाभावी पैसा बाँड्ने । साधारण निमुखा जनतालाई नहेर्ने । र, एउटा नयाँ वर्गको निर्माण गर्ने, नयाँ कम्युनिष्ट तानाशाहीमा देशलाई लैजाने । देशलाई फेरि अन्धकारमा धकेल्ने, यस्तो चूनौति कांग्रेसले सामना गर्नुपरिरहेको छ । यस्तो बेलामा हाम्रो पार्टी सक्षम भएर, आफूभित्रबाट तमतयार भएर अगाडि बढ्नुपर्ने ठाउँमा आफ्ना अधिवेशनहरु, निर्वाचनहरु (कतिपय हाम्रा संगठनका अधिवेशनहरु) चुनावहरु गरेर आफू तयार भएर जनताको सम्पर्कमा जानुपर्ने बेलामा, हामीले चाहीँ के गर्न लागेको हो ? हाम्रो आफ्नै अधिवेशनको टुँगो छैन । यस्तो किसिमको अवस्थामा हामी किन पुग्यौं ? कसरी पुग्यौं ? ऋषिजी मैले धेरै पहिलेदेखि भन्दै आएको छु । ल है सुनौलो भविष्यको लागि समयमै काम गरौं भनेर । हाम्रो अधिवेशन आउँदैछ, त्यसको तयारी गरौं भने । कार्यतालिका निकालौं र कुन समयमा के काम गर्ने भनेर भनेको थिएँ । यी कुरा म तीन वर्ष अगाडिदेखि भन्दै आएँ । त्यो बेलामा सामान्य अवस्था थियो । हामीले सहज रुपमै अधिवेशन सम्पन्न गर्न सक्दथ्यौं । चार वर्षको कार्यकालभित्रै अधिवेशन गर्न सकिन्थ्यो । कतिपय साथीहरुले अर्ली अधिवेशनको कुरा गरेका थिए । तर, मैले कमसेकम टाईम्ली अधिवेशन त गरौं भनेको थिएँ । कार्यतालिकाबारे छलफल गरौं भनेर मैले प्रस्ताव प्रस्तुत पनि गरें । तर, हाम्रा साथीहरुले त्यसमा ध्यान दिनुभएन । त्यसलाई हल्का रुपमा साथीहरुले लिनुभयो । अहिले कोरोना महामारी भन्नुहुन्छ । हिजो कोरोनाको महामारी नहुँदा किन नगरेको ? त्यसको लागि को जिम्मेवार हो ? यसको लागि हामी सबैले आत्मनिरीक्षण पनि गर्नुपर्छ । त्यसकारण म के भन्छु भने कि नेपाली कांग्रेसलाई अहिलेको चूनौति सामना गर्नसक्ने पार्टी बनाउने हो भने यसले समयवद्ध काम गर्नैपर्छ । यसले कुन समयमा कुन काम गर्ने हो ? त्यो काम गर्नुपर्छ । के काम गर्नुहुँदैन, हो त्यो काम पनि गर्नुहुँदैन् । जस्तो अहिले सभापतिले विभाग बनाउनुभयो, जो कि उहाँले आफू सभापति भएको दुई महिनाभित्रै विभाग बनाउनुपर्नेथियो । आज आएर उहाँ बनाउँदै हुनुहुन्छ । ६ महिनाभित्र पनि नबनाउने, अनि आफ्नो कार्यकाल वितिसक्दा बनाउनुहुन्छ । डेट एक्सपायर औषधीले के गर्छ ? त्यसले साईड ईफेक्ट गर्छ । त्यसले नराम्रो असर पार्छ । त्यसैले मैले भन्दै आएको छु कि समयमै काम गरौं । समयमै सबै काम गर्न सकेको भए अहिले हामी सशक्त हुन्थ्यौं । कांग्रेस एकताबद्ध भएर उभिन्थ्यो । सरकारलाई पनि दबाब हुनेथियो । मैले मनपरी गरें भने प्रतिपक्षले सहँदैन है भन्ने सरकारलाई पनि डर हुन्थ्यो । आज प्रतिपक्षी दल बेखबर छ भनेर सरकार लापरबाह भयो । त्यही भएर सरकारले जनतालाई हेप्दैछ । प्रतिपक्ष सबैलाई हेपेर मनलागी गर्दैछ ।

कोरोना महामारीकै बीचमा चुनावको कुरा गर्दा अमेरिका र भारतमा चुनाव हुँदैछ, तर नेपालमा किन हुन सक्दैन् ? तपाईको पार्टीको महाधिवेशन किन हुन सक्दैन् ? के कारणले ? मलाई बताईदिनुहोस त ? हुन त तपाई अझैपनि फागुण ७ गतेबाटै महाधिवेशन हुनुपर्छ भनिरहनुभएको छ, बास्तवमा तपाईको भनाई के हो ?

हाम्रो सभापतिजी, हाम्रो पार्टीका वरिष्ठ नेताहरु, विधानका व्याख्यता साथीहरु, सबैलाई मेरो यही प्रश्न छ कि तपाईहरु कोरोना देखाएरमात्रै कसरी डेटमात्रै सारौं, कार्यतालिका नयाँ बनाऔं, अनि अधिवेशन पर लैजाऔं भन्नुहुन्छ ? जबकी हाम्रो पार्टीको विधानले केन्द्रिय कार्यसमिति देखि लिएर अन्य समितिको कार्यकाल चार वर्षको हुन्छ । यदि असाधारण परिस्थिति आयो भने एक वर्ष कार्यकाल केन्द्रीय कार्यसमितिले थप्न सक्छ भनेको छ । असाधारण परिस्थिति नपरिकनै त्यो बेलामा खुरुक्क महाधिवेशन गर्नुपर्दथ्यो । साधारण परिस्थितिमै महाधिवेशन टालटुल र पर धकेल्ने काम गरियो । अब फागुणमा त केन्द्रीय समितिले थप्न पाउने अधिकार पनि सकिन्छ । पहिलो कुरा त विधान संकटमा पर्छ । जति अधिवेशन पर धकेलिँदै जान्छ, त्यति नै हामीले देशमा हुने अन्य चुनावहरुको लागि तयारी गर्ने अवसर गुमाउँदै जान्छौं । हामी आफ्नो अवसर आँफैं गुमाईरहेका छौं । समयमा काम नगर्दा हामीले धोका पाईरहेका छौं । त्यसले गर्दा आउने चुनावमा फेरि पराजित हुने वातावरण हाम्रा नेताहरुले बनाउँदै हुनुहुन्छ । सभापतिबाट आउने चुनावमा फेरि हामीलाई धोका हुने परिस्थिति सिर्जना हुँदैछ । त्यसैले म के भन्छु भने अझैपनि समय चार महिना बाँकी छ । विधानअनुसार काम गर्ने हो भने सजिलैसँग क्रियाशिल सदस्यता टुँग्याउन सकिन्छ । कार्तिकभित्र वा मंसिर १५ गतेभित्र टुँग्यायौं भने डेढ महिनाभित्र सबै तल वडादेखि केन्द्रसम्मको अधिवेशन सम्पन्न गराईदिन्छौं भनेर निर्वाचन समितिका साथीहरुले भनिरहेका छन् ।

नेतृत्वले चाह्यो भने फागुण ७ गते नै महाधिवेन हुन्छ ?

हुन्छ । अझै पनि एक एक दिनको सदूपयोग गरौं न । तुरुन्तै हामीले क्रियाशिल सदस्यता टुँग्याएर जानुपर्छ । अधिवेशनको लागि तयारी नै नगर्ने, तरखर नै नगर्ने ? के बेईमानी हो ? यो त नेपाली कांग्रेसमाथि नै षड्यन्त्र हो । केन्द्रीय सभापतिजीले जिल्ला जिल्लालाई भन्ने हो भने सबै कुरा दनादन टुँग्गिदै जान्छ । र, काम गर्दै जाँदा केही दिन पुगेन छ भने फागुण ७ को ठाउँमा फागुन १७ त होला नि ।

कांग्रेस कार्यकर्ताहरु पनि नेतृत्वले महाधिवेशन सार्छ भनेर भनिरहेका छन् नि ?

यो नै सबैभन्दा भ्रम, यसले नै साथीहरुलाई निष्क्रिय बनायो । महाधिवेशन सरिहाल्छ, अहिले किन हतार गर्नुपर्यो ? किन दुःख गर्नुपर्यो ? किन रिस्क मोल्नुपर्यो ? भनेर अहिले जिल्ला जिल्लामा साथीहरुले काम गर्नकोलागि तदारुकता देखाउन सकिरहेका छैनन् । यस्तो किसिमको प्रवृत्ति, पार्टीभित्र महारोग सल्काईएको छ । विहारमा चुनाव हुँदैछ । अमेरिकामा चुनाव हुँदैछ । न्यूजिल्याण्डमा अस्ति चुनाव सम्पन्न भयो । पार्टीमा महान साथीहरुको धारणा एकातिर छ, र केन्द्रिय नेतृत्वको धारणा अर्कोतिर छ । यो चाहीँ मेरो निम्ति चिन्ताको विषय हो ।

नेतृत्वले यहाँको कुरा सुनेको छैन, तपाईको समूहले अब कस्तो रणनीति अपनाउँदै छ त ?

हामीले सभापतिलाई लेखेरै दिएका छौं । यो दिएको पनि कत्ति भैसक्यो । यो गर्नुपर्छ । त्यो गर्नुपर्छ भनेर सुझाव दिएका थियौं । कांग्रेस लिवरल पार्टी हो । हामी बाहिरबाट आएकालाई स्वागत गर्छौं । तर, कसलाई के जिम्मेवारी दिने ? भन्ने प्रष्ट छ । सबै कुरा परिभाषित छ । यहाँबाट थोपर्ने काम नगरौं । आफूअनुकुल कमिटी नबनाऔं । क्रियाशिल सदस्यताको बारेमा पनि हामीले सभापतिलाई लेखेर दिएका छौं । विभाग गठनदेखि भातृ संगठनको सवालमा लेखेर दिएका छौं । अहिले बैठकहरु स्थगित् छन् । १६ बुँदे पनि स्थगित छ । सबै बैठक स्थगित गरेर आनन्दले बस्ने काम भैरहेको छ । यो अर्को अनर्थ भैरहेको छ ।

चीनले हुम्लामा नेपालको भूभाग मिच्यो भनेर कांग्रेसले एउटा निश्कर्ष निकालेको छ, तर सरकारले त चीनले एक ईन्चपनि नेपालको भूमि मिचेको छैन भनेर भनेको छ । तपाईहरु के भन्नुहुन्छ ?

पहिलो कुरा त यो सरकारको परराष्ट्र नीति नै के खालको हो ? मैले बुझ्न सकेको छैन् । यो चाहीँ कम्युनिष्टहरुको कस्तो राष्ट्रवाद ? त्यो पनि मैले बुझ्न सकेको छैन् । केवल भारतविरोध मात्रै राष्ट्रवाद हो कि ? यो देशको हरेक भूमि चाहे पूर्व होस, या पश्चिम, या उत्तर या दक्षिण, जताबाट भएपनि देशलाई सुरक्षित राख्ने राष्टवाद हो कि ? अथवा कसैको मात्र विरोध गर्ने राष्ट्रवाद हो ? पहिलो कुरा त मैले कम्युनिष्टको राष्ट्रवाद बुझ्न सकेको छैन् । अर्को कुरा, म के भन्छु भने कि हाम्रो सिमाना मिचियो । हिजो चाहीँ हामीले कालापानी, लिपुलेक, जुन चाहीँ लिम्पियाधुराको सवाल आउँदाखेरि सबै पार्टी हामी जम्मा भयौं । हामीले प्रधानमन्त्रीलाई भन्यौं –प्रधानमन्त्रीज्यू तपाईँ अगाडि बढ्नुहोस । तपाईँ प्रस्ताव ल्याउनुहोस । हामी स्वागत गरिदिन्छौं । हामी सर्वसम्मतीले पास गरिदिन्छौं भनेर त्यसरी भन्ने । अहिले चीनसँग सिमा विवाद पर्यो । त्यहाँको अफिसर, हुम्लाका सहायक सिडिओ आँफैं गए । त्यहाँका स्थानीय जनप्रतिनिधिसहित गए । गएर हेरे । त्यहाँ सूरक्षा निकायका प्रतिनिधिलगायत सबै गए । गएर हेर्दा घर जुन बनेका रहेछन्, त्यो चाहीँ पहिलेदेखि विवादस्पद ठाउँ रहेछ । हाम्रोतिर आएर एउटा घर बनाएको रहेछ । पछि गएर फेरि अहिले त्यहाँ त अनकन्टार ठाउँ छ । हिउँ पर्छ । हिउँ नपर्ने दिनमा हाम्रो तर्फबाट त्यहाँ चौरी चरन गराउने गरिँदै आएको छ । पशुहरु लगेर चराउने ठाउँ हो । त्यहाँ सितिमिती मान्छे जाँदैनन् । पहिले घर भन्दापनि हाम्रोतर्फबाट आपत्ति जनाईएको थियो । त्यतिवेला चिनियाँहरुले दुवै तर्फबाट पशुको उपचारको लागि बनाएका हौं भने । त्इसपछि सहायक सिडिओ गएर हेरेपछि हाम्रो जमिनमा अरु पनि घर बनाउन थालेछन् भनेर हेरेपछि र उनले यहाँ रिपोर्ट दिँदादिँदै । त्यसपछि अब होईन सहायक सिडिओले मात्रै गएर हेरेर हुँदैन भनेर सिडिओ आँफै त्यहाँ गए । सुरक्षा निकायका प्रतिनिधिहरुपनि गएका थिए । उनीहरु गएर हेरे त्यहाँ सबै । स्थलगत अध्ययन गरेर फर्कन पाएको छैन र रिपोर्ट आउन पाएको छैन् । सिडिओले ल्याएको रिपोर्ट अहिलेपनि प्रकाशित गरिसकेको छैन् । यो देशको परराष्ट्रमन्त्री जमिन मिचिएको छैन । हाम्रो जमिन एकदम कहीँ केही भएको छैन भनेर वक्तव्य दिनलाई उहाँलाई हतार हुन्छ । हामी अध्ययन गर्दैछौं । हेर्दैछौं भन्नु छैन । त्यसकारण एउटा त सरकारले पहिले नै हतारिएर टिप्पणी गर्यो । त्यो नै सरकारको गैरजिम्मेवारी र लाचारीको प्रमाण हो ।

अर्को कुरा, अहिलेपनि हाम्रो विपक्षी दलको नेता जीवन बहादुर शाही । हाम्रो सांसदसहित सबै साथीहरु त्यहाँ जानुभयो । के हो त बास्तविकता ? भनेर । सबै हेर्नुभयो । त्यहाँ उताबाट बाटो पनि बनाईएको छ । हाम्रो मोटर बाटो पनि उतै छ । अब अहिले, त्यतिखेर बाटो बनाउँदा चिनियाँहरुले विरोध गरेका थिएनन । किनकी जमिन हाम्रै हो । अहिले त्यहाँ सिमा स्तम्भ बनाईएको छ । पूरानो स्तम्भ भत्काएको भेटिएको छ भनेर गम्भीर जिम्मेवार प्रतिनिधिमण्डल गएर सरकारलाई सुझाव दिँदैछ । निक्र्यौल हुनुपर्छ । यो भन्दाभन्दै सरकार कानमा तेल हालेर बसेको छ । मैलेपनि सरकारलाई भनिसकेको छु । हाम्रो सिमा कति मिचिएको छ । सरकारले विशेषज्ञ पठाएर त्यहाँ छानबिन गर्नुपर्छ । चिनियाँ विशेषज्ञलाई पनि राखेर र हाम्रो विज्ञ टोलीलाई पनि राखे । दुवैथरि विज्ञ राखेर कुराकानी गर्नुपर्छ । नक्सा राखेर । पिल्लर सारिएको हो कि होईन ? त्यो पनि जाँच गरेर । कहाँ थियो हाम्रो पिलर ? कहाँ थियो हाम्रो सिमाना ? कहाँ थियो हाम्रो पहिलेको बाटो ? अहिले कहाँ छ ? मित्रराष्ट्रसँग हामीले अनावश्यक टेन्शन बढाउनुभन्दा दुवैथरि बसेर यहाँ हेरौं न त । यहाँ शंका उठ्यो । स्थानीय जनप्रतिनिधिहरुले गुनासो गर्नुभयो । किन अविश्वास राख्ने ?’



प्रतिक्रिया दिनुहोस्