Logo

अब डिजिटल माध्यमबाट नागरिकलाई ट्राफिक नियम सिकाउँछौं : एसएसपी ढकाल



मुकुन्द कालिकोटे : काठमाडौं ४ कार्तिक । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले अब डिजिटल माध्यमबाट नागरिकहरुलाई ट्राफिक नियम सिकाउने दावी गरेका छन्् । काठमाडौंको त्रिपुरेश्वरको चौकमा जडान गरिएको ट्राफिक लाइट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी ढकालले अब माईकिंग, पम्प्लेट र सिट्टीले हैन, डिजिटल माध्यमबाट आम नागरिकहरुलाई ट्राफिक नियमको पालना गर्न सिकाउने दावी गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघसंस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको जानकारी दिए । एसएसपी भीमप्रसाद ढकालले भने, आजका मितिसम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको छ । उपत्यकामा ९ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालको भनाई थियो । लाइटको माध्यमाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उनले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले जानकारी दिए । सम्बोधनका क्रममा ट्राफिक प्रमुख ढकालले भने, उपत्यकामा रहेका सबै सिसि क्यामरामार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याईएका छौं । यस्तै ट्राफिकबाट दिइने कुनैपनि सेवालाई अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको पनि उनले बताए ।

कुनैपनि सवारी साधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताए । त्रिपुरेश्वर चौकमा रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा पूर्व एआईजी विज्ञानराज शर्मा, डिष्टिक गभर्जर राजीव पराजुलीले पनि सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्