Logo

दक्षिणी सोमालियामा १८ लडाकू मारिए



४ कात्तिक: सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा विद्रोही अल–शबाबसँग आबद्ध कम्तीमा १८ जना लडाकूको मृत्यु भएको छ ।

एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गरेको थियो ।

सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले स्थानीय संवाददाताहरुलाई विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको जानकारी दिए ।

कमान्डर जियादले विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका युद्धकार्य कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए ।

हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । ग्रामीण क्षेत्रमा पकड बनाएका विद्रोहीहरुले सेनालाई लक्षित गरी बाटाहरुमा बारुदी सुरुङ बिछ्याउने र विद्युतीय धराप राख्ने गरेको सेनाले जनाएको छ ।–एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्