Logo

आन्तरिक विमान सेवामा भारतीय लगानी



काठमाडौं, कार्तिक ५ । विगत १० महीनादेखि सेवा ठप्प भएको निजीक्षेत्रको सौर्य एयरलाइन्सले भारतीय कुवेर समूहलाई नयाँ साझेदारका रूपमा भित्र्याएको छ । नयाँ साझेदार भित्रयाएसँगै सौर्यले बुधवारदेखि नियमित उडान पनि शुरू गर्ने भएको छ । कम्पनीले भारतीय कुवेर समूहलाई ४९ प्रतिशत शेयर दिएर भित्र्याएको हो । कम्पनीमा ५१ प्रतिशत शेयर नेपाली समूहकै रहेको छ ।

विद्यमान कानूनअनुसार आन्तरिक उडानका लागि विदेशी लगानी भित्र्याउँदा बहुमत शेयर नेपाली लगानीकर्ताकै हुनुपर्ने प्रावधान छ । यसैअनुरूप ५१ प्रतिशत शेयर आफैसँग राखी भारतीय साझेदार भित्र्याएको सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताए ।

‘आर्थिक अभावका कारण नयाँ योजनाहरू कार्यान्वयन गर्न समस्या परेको थियो । अहिले भारतीय बजारमा राम्रो छवि भएको कम्पनीलाई नयाँ साझेदारका रूपमा भित्रयाएका छौं । यसले गर्दा हामी आगामी दिनमा आन्तरिक बजार र निकट भविष्यमै क्षेत्रीय बजारमा समेत आप्mनो उपस्थिति जनाउनेछौं,’ उनले भने ।

आन्तरिक उडानमा विदेशी साझेदार भित्र्याउने सौर्य नै पहिलो कम्पनी भएको उनले जानकारी दिए । कुवेर समूह भारतमा रियल इस्टेट तथा टोबाको क्षेत्रमा लगानी गरेको समूह हो ।

प्रबन्ध निर्देशक भट्टराईका अनुसार कम्पनीले हाल तीनओटा विमानबाट सेवा दिनेछ भने छिट्टै नयाँ एटीआर जहाज खरीद गर्ने योजना बनाएको छ । नेपाली आकाशमा अन्य विमानभन्दा एटीआरको सञ्चालन खर्च कम आउने र नेपालको भौगोलिक अवस्थितिका लागि अनुकूल पनि भएको उनको भनाइ छ ।

कुवेर समूहको प्रवेशपछि उत्साहित भएको सौर्यले व्यावसायिक रणनीतिअनुरूप थप पाँचओटा जहाज ल्याउने योजना बनाएको जानकारी दिएको छ । त्यसपछि आन्तरिक हवाई व्यवसायमा आफ्नो अंश बढाउन सकिने कम्पनीको विश्वास छ । सौर्यले लकडाउनकै बीच ५० सीटे क्यानेडियन बम्बार्डियर सीआरजे–२०० जहाज थपेको छ ।

नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० ओटा उडान अनुमति पाएको भए पनि शुरूमा दैनिक तीन गन्तव्यमा एकएक उडान गर्ने योजना बनाइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्