Logo

प्रहरी हत्या प्रकरणः परिवारको खम्बा ढलेपछि



कैलाली, कार्तिक ५ । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उनी दलित समुदायकै पहिलो व्यक्ति थिए ।

विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जितेका थिए उनले। त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।

गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उनीसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गरेका छन् । मोहना नदी दुवैको एकै चिहान बन्यो ।

आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो ।

दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत रहेका  थिए । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।
यो घटनाले परिवार मात्रै हैन सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘‘गस्तीमा जानुभएका हाम्रो दाइको मात्रै हत्या भएको छैन’’, विकका भाइ नरेशले भने, “घरमा रहेका अरू १२ जना सदस्यको पनि हत्या भएको छ । घरका लागि कमाइ गर्ने एक्लो व्यक्तिको मृत्युले हामीहरू सबै मरेतुल्य भएका छौँ ।”

निष्ठापूर्वक प्रहरी सेवामा लागेकै कारण आफ्नो दाइले ज्यान गुमाउनु परेको उनको भनाई छ । “यदि मेरो दाइले घुस वा कमिसन लिन जानेको भए ड्युटीमा हत्या हुने थिएन”, नरेशले भने ।
घरमा ५० वर्षीया आमासहित १२ जना सदस्य छन् ।

जसमध्येका छ र तीन वर्षीया दुई कलिला छोरी छन् । विक परिवारको आशाको त्यान्द्रो थिए । उनलाई आमाले धेरै दुःखकष्ट गरेर प्रवीणता प्रमाणपत्र तहसम्म पढाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्