Logo

पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा नेपालसँग छलफल



काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच मङ्गलबार वन टु वन कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको हो ।

विश्वस्त स्रोतका अनुसार ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गरेका थिए । उनले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिएको बुझिएको छ । आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको समेत नेपालको जवाफ थियो । म सधैं सहमतिबाट जाने पक्षमा छु, तपाईं नै मोडिनुभयो, नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

ओलीले नेपाल प्रचण्डसँग नजिकिएर आफ्नोविरुद्ध उत्रिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले प्रचण्डले सरकार र पार्टी सञ्चालनमा अप्ठ्यारो पारेको भन्दै नेपाललाई साथ दिन आग्रह गरेका थिए ।

मन्त्रिमण्डल पुर्नगठनमा समेत सहमतिबाट बढ्ने भन्दै नेपाललाई मिलेर जाने प्रस्ताव गरेको बुझिएको छ । नेपालले भने आफूले यसबारे निकटस्थहरुसँग परामर्श गरेर बढ्ने जवाफ दिएका थिए ।

नेकपाभित्र ओलीलाई हटाउन नयाँ डिजाइन बनिरहँदा बालुवाटारमा हिजो नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । यसले पूर्व एमाले पक्ष पुनः एक ठाउँमा आउने संकेतहरु देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्