Logo

मटर रोक्न खोज्दा ‘मर्डर’



कैलाली, कार्तिक ५ । केराउ तस्करीमा संलग्न व्यक्तिहरूले दुई प्रहरीको हत्या गरेको पाइएको छ। जुगेडा अस्थायी प्रहरी पोस्टका असइ गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको अनुसन्धानबाट खुलेको हो।

असइ विकको शव आइतबार कैलालीको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा भेटिएको थियो। जवान साउदको शव पनि नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमै मंगलबार बिहान भेटिएको हो।

‘चार डल्लबमा केराउ (मटर) आइरहेको सूचनाका आधारमा असइ विक र जवान साउद शनिबार राति ७ बजे खाना खाएर सिमानातिर लागे’, कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘उनीहरूले तस्करीको सामान साढे तीन घण्टा ढुकेको देखिन्छ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार केराउ भरिएका चारवटा डल्लब नियन्त्रणमा लिई चौकी ल्याउने बेला फरुवा बोकेर आएकाहरूले आक्रमण गरेको खुलेको छ। ‘उक्त घटनामा फरुवासहितका घरेलु हतियार प्रयोग गरिएको छ’, ती अनुसन्धान अधिकृतले भने। असइ विकसँग रहेको हतियार मंगलबार घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ।

अहिले भियतनामबाट नेपाल आयात गरिएको केराउ भारततर्फ तस्करी हुने गरेको छ। भारतमा केराउ किलोको मूल्य ७० भारु रहेको छ भने नेपालमा उक्त केराउ ६५ रुपैयाँ किलोमा पाइन्छ। तेस्रो मुलुकबाट आयात गरिएको सामान निर्यात गर्न नपाउने नियमअनुसार प्रहरी सीमा क्षेत्रमा केराउ तस्करी रोक्न गएको आजको अन्नपर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्