Logo

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने : ‘सक्नेले आँफै उपचार गर्ने भनेको हो, विपन्नको उपचार सरकारले गर्छ’



काठमाडौं, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वर्तमान सरकारले कोरोना उपचारको व्यवस्थापन अझै राम्रो गर्ने तयारीस्वरुप सक्नेले आँफैं उपचार गर्ने र नसक्नेको मात्रै सरकारले उपचार गर्ने भनेर निर्णय गरेको स्पष्ट पारेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. गौतमले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाल सरकारले कोरोना उपचारको व्यवस्थापन अझै राम्रो गर्ने तयारी स्वरुप गरेका हौं । सरकारले उपचार नगर्ने भनेको छैन् । कोरोना भाईरस संक्रमण अझै एक/दुई वर्ष देखिने भयो । सरकारसँग सिमित साधन र स्रोत छ, सक्नेले आँफैले उपचार गर्ने र आँफै परीक्षण गर्ने भनिएको हो । जसले गर्न सक्दैन, एकल महिला, अपांगता, असहाय, विपन्न छ, उसले स्वमूल्यांकन फाराम भरेर बुझाउने र परीक्षण र उपचार पाउँछ । उपचार गर्न सक्दिन् भनेर एउटा जानकारी दिनुपर्छ । विपन्न छु भनेर किन नलेख्ने ? धनीले आँफै उपचार गर्न सक्छ । राज्यले विपन्नलाई हेर्नुपर्छ । सरकारे धनीको पनि गर्छु । पजेरो चढ्नेलाई गर्छु भन्यो भने त्यो पनि ठिकै होला । सक्नेले तिर्ने र नसक्नले सुविधा लिने गर्नुपर्छ । यो उपयुक्त हो । राज्यले विवेकपूर्ण तवरले गर्नुपर्छ ।’

त्यस्तै, गौतमले कोरोना पोजेटिभको शब डिस्पोज गर्ने काम नेपाली सेनाले गरिरहेको सुनाए । उनले भने,‘सरकार गलत छ भनेर देखाउन मिडियाले बदनियतपूर्ण तवरले कुप्रचार गरेका छन् । जो ठूला–ठूला महलमा बस्छन् । अरबौं सम्पत्तिका मालिक छन्। तपाईले आफ्नो उपचार गरिदिनुभयो भने सरकारसँग भएको सिमित साधन र स्रोतले विपन्नलाई उपचार गराउँछौं भनेको हो । कांग्रेसले नबुझीकन वक्तव्य जारी गरेको हो । यसमा कुनै अन्यथा भएको छैन् । विपन्नहरुको उपचार गर्ने परम्परा नेपालमा पहिलेदेखिनै छ ।’



प्रतिक्रिया दिनुहोस्