Logo

मोहना नदीको तीरमा असई र जवानको यसरी भएको थियो हत्या



कैलाली, ५ कात्तिक । दुई जना प्रहरी कर्मचारीको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धनगढी पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने राम गोपाल राना रहेका छन् ।

शनिबार राति करिब साढे १० बजे उक्त पोष्टबाट सीमा क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि नियमित गस्तीमा खटिएको अवस्थामा दुवै जना सम्पर्कमा नआएपश्चात उनीहरुको खोजी गर्ने क्रममा हत्या गरी धनगढी स्थित मोहना नदीमा फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक विकको आइतबार र प्रहरी जवान साँउदको मंगलबार शव फेला परेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उक्त नदीबाट करिब ४ सय मिटर टाढा सीमामा अबैध सामानहरुको तस्करी गरिरहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले योजनाबद्द रुपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरेपश्चात करिब ४ सय मिटर टाढा मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले शव फाली फरार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान कसूर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्