Logo

बन्धक बनाई कोठामा राखेको बालिकाको उद्दार



ललितपुर, ५ कात्तिक । अपहरित बालिकाको तीन घण्टापछि प्रहरीले सकुशल उद्दार गरेको छ । ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब तीन घण्टापछि प्रहरीले सकुशल उद्दार गरेको हो । साथै बालिका अपहरणमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्दी बस्ने सर्लाही घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध घर भएकी २३ वर्षीया सिता परियार र धनुषा धारापानी घर भएका ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।

ललितपुरको महालक्ष्मी मनकामना चोकमा खेलिरहेको समयमा साईकल चढी आएका ब्यक्तिहरुले बालिकालाई साईकलमा राखी लगेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकालाई उद्वार गरी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनामा प्रयोग भएको एक थान साइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्