Logo

फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप



काठमाडौं, ५ कात्तिक । सामाजिक सञ्जाल फेसबुकको देशभित्र दुरुपयोग हुने क्रम बढेको छ । ग्रुपमा जथाभावी लेख्ने र नकारात्मक हल्ला फैलाउने समेत छन् । जसमध्ये बलात्कारी संगठन नामको ग्रुप पनि छ ।

प्रहरीले बलात्कारी संगठन नामक ग्रुप बनाउने मुख्य व्यक्तिलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठनको नामक समुह बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्‍भाव, शिष्टाचार विरुद्ध सामग्री पोष्ट गरी प्रतिक्रिया जनाउने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढीका अभिषेक नेपाल सोमबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

अभिषेकले उक्त संगठन नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरिरहेको जनाइएको छ । प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यमा संलग्न नेपाल घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसूर गरेको खुलेपश्चात पक्राउ गरी उनी माथि थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्