Logo

दशैँमा स्वदेश फर्किनेको कथा : अब विदेश नजाने बाचा



कात्तिक ५, काठमाण्डौ । उदयपुर घाइघाटका लोकमान बस्नेतले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया ३ बर्ष बिताए । साढी दुई बर्ष लोकमानको काम र कमाई राम्रै थियो । जव अव एकबर्ष काम गर्छु र घर जान्छु भन्ने सोचेका लोकमानलाई त्यतिबेला झट्का लाग्यो मलेसियामा लकडाउन सुरु भयो । ४ महिना त उनी बेरोजगार नै बसे । पछि पुन काम पाएपछि केही महिनाको कमाईले लोकमान बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आइपुगे । लकडाउन हुँदा र अन्तराष्ट्रिय उडान ठप्प हुँदा अव घर जान पाइन्नकी भन्ने सोचेका लोकमान आफ्नै देशको बिमानस्थलमा पुग्दा औधी खुसी लागेको बताए ।

लोकमान मात्रै होइन रुपान्देहीका श्री यादव पनि बुधबार जन्मभूमिको बिमानस्थलमा ओर्लिए । ५ बर्ष मलेसियामा बिताएका उनीलाई लकडाउनले खासै समस्या नभएपनि घर आउन भने निक्कै हतार थियो । तर, बिमान नै बन्द हुँदा काम पाईदैनकी भन्ने डरले भनेसधैँ सताईरहयो । श्री यादव अब विदेश नफर्किने गरी नेपालमै केही गर्ने सोचका साथ फर्किएको बताए ।

बिदेशको कष्टकर बसाई र परिवारको सम्झनामा लकडाउन मुस्कीले कटाएको उनको अनुभव छ । त्यस्तै अर्का रुपन्देहीका सरोज यादव पनि युएइमा ५ बर्ष काम गरेर स्वदेश फर्किएका छन् । कोरोना महामारीका कारण अन्य साथीहरुले धेरै दुख पाएको सम्झदै उनी अव विदेश नजाने अठोट लिएर स्वदेश फर्किएका छन् । सरोज विदेशमा दुख पाउनुभन्दा स्वदेशमै केही गरेर बस्ने सोच बनाएका छन् ।

लोकमान, श्रीयादव र सरोज त उदाहरण मात्रै हुन् । झडै ८ महिनाको लकडाउनले बैदेशिक रोजगारमा पुगेका हजारौं नेपालीले निक्कै कष्ट भोग्नुपर्यो । रोजगार गुमाउदा उनीहरु कोरोनाको त्रासमा पनि एउटै कोठामा दर्जनौं मानिस बस्नुपर्यो । न त खान राम्रो छ न त समयमै घर जान पाइने आस नै थियो । निरन्तर सरकारसँग उद्धारको लागि हात जोडेपनि कसैले वास्ता गरेन । केही मानिसहरुले त उद्धारको नाममा निक्कै ठगिनु समेत पर्यो । स्वदेश फर्किदा समेत टिकट देखि होटेलसम्ममा ठगिदा उनीहरुको गुनासो सुन्ने कोही भएन ।

दशैं घरदैलोमा आइसकेको छ । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपालीहरु यतिबेला बडादशैं मनाउन स्वदेश फर्किरहेका छन् । लामो समयसम्म मिान नचल्दा अलपत्र परेका नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने क्रम बढ्दो छ । कोही कोरोनालाई जितेर र कोही रोजगार गुमाएर अलपत्र नेपालीहरु चाडपर्व मनाउन मनाउँन स्वदेश फर्किएकोमा दंग देखिन्छन् । लकडाउन देखि यता मात्रै १ लाख नेपाली स्वदेश फर्किएका छन् । बिशेष गरेर अक्टोबर देखि खाडी मुलुकबाट नेपाली धेरै स्वदेश फर्किएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

बिदेशमा अलपत्र परेका नेपालीहरुलाई समयमै उद्धारको ब्यवस्था नगर्दा अझै हजारौं मानिसहरु अलपत्र छन् । उनीहरु स्वदेश फर्किने बाटो कुरेर बसिरहेका छन् । अर्काको देशमा पसिना बगाउन पुगेका नेपाली र उनीहरुको रेमिट्यान्सले नै देश सञ्चालनमा योगदान गरेको गफ दिने प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई अझै विदेशको पिडाले छोएको छैन् । दशैं, तिहार, छठ, लोसार, माघी जस्ता पर्बहरु नजिकिदै गर्दा उद्धारको पर्खाइमा धेरै नेपालीहरु छन् ।

कोरोनाले विश्वलाई नै थिलो थिलो बनाइरहेको छ । धेरैको रोजगारी खोसिएको छ । लाखौं नेपाली स्वदेश फर्किदा उनीहरुलाई रोजगारको ग्यारेण्टी गर्ने कार्यक्रम बनाउन सरकारले तदारुकता देखाउनुपथ्र्यो त्यो देखिदैन् ।



प्रतिक्रिया दिनुहोस्