Logo

नेपालमा भारतको चासो बढ्यो, अब के होला ?



काठमाडौं, ५ कात्तिक । नेपालमा छिमेकी भारतको चासो ह्वात्तै बढेको छ । उसले सुरक्षा चासोलाई प्राथमिकतामा राखेर चासो बढाएको छ । भारतका सेनापति एम एस नरवाणेको नेपाल भ्रमणको दुई हप्ता अघि खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले विशेष विमानबाट नेपाल आएको खबर छ ।

प्रायः खुसुक्क आउने खुफिया एजेन्सीका अधिकारीहरुभन्दा गोयल फरक तरिकाले आए । उनी आउन लागेको सूचना बाहिर आयो ।
गोयल आएकै दिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले डाके । उनले बैठक डाक्नु संयोग मात्र नहुनसक्ला ।

भारतको सुरक्षा मामला हेर्ने रअ प्रमुख गोयलको भ्रमण हुनु र सेनापति नरवाणेको भ्रमण तय हुनुलाई अर्थपूर्ण मान्नुपर्छ । त्यसमाथि यी भ्रमणहरु भारतको नेपालसँग सीमामा समस्या बढ्दा हुँदैछ । पछिल्लो समय अमेरिका, भारत, जापान र अष्ट्रेलिया रहेको क्वाड समूहको सक्रियता बढ्दै जाँदा समुन्द्र देखि हिमालसम्म प्रभाव पर्ने निश्चित छ । चीनसँग क्वाड देशहरुले चुनौती प्रस्तुत गरिसकेका छन् ।

नेपाल मामलामा पनि क्वाड देशहरुको चासो बढ्नसक्छ । सामरिक स्वार्थका कारण गाँसिएको क्वाडका चार देशहरुको सम्बन्धले सैन्य सक्रियता बढाउन थालेको छ । समुन्द्रमा नौसैनिक अभ्यास संयुक्त रुपमा हुँदैछ । हिमालय क्षेत्रमा पनि चीनको बढ्दो सैन्य गतिविधिप्रति भारतले चुनौती दिइसकेको छ । त्यसमा अमेरिकालगायत क्वाडका अन्य सदस्य राष्ट्रले साथ दिन थालेका छन् ।

चीनसँग सीमामा बढ्दो तनावलाई भारतले गम्भीरताका साथ लिएको देखिन्छ । चीनको दक्षिण एशियामा बढ्दो उपस्थितिलगत्तै भारतले पनि ताइवानमा चासो बढाएको छ । यसले दुवै देशबीच तिव प्रतिष्पर्धा छ । भारत र चीनको तिव्र प्रतिष्पभाको असर देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्