Logo

‘सरकार असफल भैसकेको छ, सरकार छ भन्ने कुरा जनताले अनुभुति गरेका छैनन् ’ : लेखक



काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङका (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका हुन या होईनन् भन्नेबारे आफूलाई यकिन जानकारी नभएको स्पष्ट पारेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले आफूलाई भारतीय रअ प्रमुख नेपाल आएकोबारे यथार्थमा जानकारी नभएको सुनाए । यद्धपी उनले आफूले पनि मिडियामार्फत गोयल नेपाल आएको भन्ने सुनेको बताए ।

उनले भने,‘भारतका रअ प्रमुख काठमाडौंमा हुनुहुन्छ भन्ने कुरा मिडियामार्फत थाहा पाएँ । तर, हाम्रो सभापति देउवाले भेटेको वा नभेटेको थाहा छैन् । को–कोलाई भेटे ? त्यो कार्यक्रमबारे मलाई थाहा छैन् । पहिलो कुरा त, रअ प्रमुख आउनुभएको हो या होईन भन्ने मैले थाहा पाएको छैन् । सामान्य भेटघाट हो कि के हो ? विशेष के छ ? भारतीय सेना अध्यक्ष काठमाडौं कार्तिक १८ गते आउँदै हुनुुहुन्छ । त्यसकै पूर्व तयारीको लागि आएको हो कि होईन पनि अनुमान गरेर भन्नुभएन । सञ्चारमाध्यमबाट यी कुरा थाहा पाएँ । को–कोलाई भेटे ? को–को लाई भेट्ने हो ? त्यो थाहा छैन् ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धको कुरा गर्दा नेपालको वर्तमान सरकारको कामकुरा र गतिविधि सन्तुलित नभएको टिप्पणी गरे । उनले भने,‘अहिलेको सरकारको जतिपनि कामकुरा र गतिविधि छन्, ती सन्तुलित छैनन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो भूमि हो । त्यो भूमिमा भारतीय सुरक्षा बसेको छ । फिर्ता हुनुपर्छ । हाम्रो भूमि फिर्ता हुनुपर्छ । भूमि फिर्ता गर्ने भनेर सरकारले काम अगाडि बढ्यो, नक्सा जारी गर्यो । हामीले समर्थन गर्यौं । संविधानले अनुसुचि संशोधन गर्न प्रस्ताव दर्ता गर्यो । हामीले अनुमोदन गर्यौं । हामीले सहयोग गर्यौं । तर, सरकार नक्सा जारी गर्न र अनुसुचि संशोधन गर्नेबाहेक भूमि फिर्ता ल्याने काममा अगाडि बढ्न सकेन । सरकारले एउटा राजनीतकि हतियारको रुपमा प्रयोग गरेको हो कि भन्ने प्रश्न उब्जेको छ । सरकार लाचार अवस्थामा देखापरेको छ ।’

नेपालको आफ्नो भूमि फिर्ता गर्ने सवालमा वर्तमान सरकारले तदारुकता नदेखाएको उनको टिप्पणी छ । उनले भने,‘सरकारको तदारुकता देखिएन । नक्सा त हामलिे बनायौं । पास पनि गरयौं । त्यसपछि सरकारले सार्थक प्रयत्न गरोस । त्यो भूमि फिर्ता लिने कुरामा सरकार अघि बढोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर, सरकारले त्यतातिर प्रयत्न गरेको देखिएन । भित्रभित्र कुटनीतिक पहल गरेको रहेछ भने त त्यो भोलि भूमि फिर्ता लिएपछि देखिएला । तर, अहिले पहलकदमी केही देखिएन ।’

नेता लेखकले कांग्रेसको १४औं महाधिवेशन आगामी फागु ७ गतेदेखि १० गेतसम्म पुरा गर्ने भनेर कार्यतालिका राखिएपनि कोभिड महामारी देशभरि फैलिएको कारणले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने स्पष्ट पारे । उनले भने,‘अहिले हेर्नुहोस, प्रत्येक नागरिकलाई आफ्नो परिवार जोगाउने चिन्ता छ । फागुनमा अब हाम्रो महाधिवेशन सम्भव छैन् । तर, फागुनमै गर्नुपर्छ भनेर केही नेताहरुले भनिरहेको मैले सुनेको छु, अहिलेसम्म क्रियासिल सदस्यता नयाँ वितरण भएको छैन् । एक दिनमा पाँच हजार भन्दा बढि संक्रमित हुने अवस्था छ । अझै फागुनमै महाधिवेशन गर्ने भनेर भन्ने कुरा जनता हसाउने काम भयो । नहुने कुरा हुन्छ भनेर जिद्दी गर्नुहुँदैन् ।’

उनले वर्तमान सरकारले कोरोना परीक्षण र संक्रमितको उपचार खर्च नागरिक आँफैले व्यहोर्नुपर्छ भनेर गरेको निर्णय अलोकतान्त्रिक, गैरजिम्मेवार र असंवैधानिक भएको टिप्पणी गरे । उनले भने,‘कोरोना परीक्षण र उपचारको खर्च नागरिक आँफैले व्यहोर्ने भन्ने सरकारको निर्णय अलोकतान्त्रिक, गैरसंवैधानिक र लज्जास्पद निर्णय हो । यदि यस्तै हो भने सरकार किन चाहिन्छ ? आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपचार पाउने अधिकार संविधानले नै दिएको छ । यो सरकार जनताको सरकार होईन भन्ने कुरा स्थापित भएको छ । सरकार असफल भैसकेको छ । सरकार छ भन्ने कुरा जनताले अनुभुति गरेका छैनन् ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्