Logo

चितुवाको आक्रमणबाट तीन घाइते



किमाथाङ्का, ६ कात्तिक: सङ्खुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् ।

धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ । चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ । श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उनले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्