Logo

मान्छे र प्रकृति



उषा शेरचन

बिहान उदाउँछ घाम सबैका लागि
रातमा उदाउँछ जून सबैका लागि
तर
घाम र जूनले
उज्यालो बाँडेको कुरा
ढ्वाङ फुक्दै हिँडेको कहिल्यै सुनिएन

बहिरहन्छ हावा सधैंभरि
बगिरहन्छ नदी सधैंभरि
तर
हावा र नदीले
जीवन दान दिएको कुरा
भन्दै हिँडेको कहिल्यै सुनिएन

उमारि रहन्छ माटो जहिल्यै पनि
फलाइ रहन्छ रूख जहिल्यै पनि
तर
माटो र रुखले
पेट भरिदिएको र आङ छोपिदिएको कुरा
कुर्लदै हिँडेको कहिल्यै सुनिएन

मान्छे भने-
आआफ्नै स्वार्थ बमोजिम
प्रकृतिलाई नै मात दिने हिसाबले
प्रकृतिलाई नै हाँक दिने हिसाबले

कहिले धर्मको नाउँमा
कहिले कर्मको नाउँमा
कहिले जातको नाउँमा
कहिले भातको नाउँमा
कहिले रङ्गको नाउँमा
कहिले लिङ्गको नाउँमा

जहिल्यै पनि
तँभन्दा म ठूलो
तँभन्दा म के कम?
भन्दै
बझाबाझ गरिरहेका हुन्छन्
तँ तँ म म भनिरहेका हुन्छन्
आफ्नो मात्रै गुन गाइरहेका हुन्छन्

अरू त अरू
सदीयौंदेखि प्रकृतिले
चुपचाप चुपचाप
मान्छेलाई सित्तैमा दिइरहेका
सबैकुरामा समेत
मूल्य टाँसेर
स्वार्थी मान्छेहरूले
मान्छेसँगै
हजारौं लाखौं
करोडौं र अर्बौं
असुल्दै
व्यापार गरिरहेका हुन्छन्

साँच्चिकै
प्रकृतिजस्तै दयालु हुँदा रहेनछन्
मान्छेहरू !
प्रकृतिजस्तै कृपालु हुँदा रहेनछन्
मान्छेहरू !!



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम