Logo

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा ‘एलाइनमेन्ट’ विवाद



काठमाडौं, कार्तिक ७ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गका विभिन्न खण्डमा रहेका ‘एलाइनमेन्ट’ को समस्या हटेको छैन ।

कतै अरु मन्त्रालयका योजना त कतै पहिले एकातिरबाट डिजाइन भए पनि स्थानीयवासीले अर्कातिर सडक लैजान मागे गरेपछि एलाइनमेन्टको समस्या हट्न नसकेको हो ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना र मध्यपहाडी लोकमार्ग खप्टने भएकाले कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । आयोजना निर्माण भएपछि धादिङ र गोरखामा गरी झण्डै ७० किमी सडक डुबानमा पर्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए ।

यसबाहेक लमजुङलगायतका जिल्लामा पनि सडकको ‘एलाइनमेन्ट’ परिवर्तन गर्नुपर्ने माग भएको छ । कतिपय स्थानमा आफ्नो घरबाट जानुपर्ने माग भएको त कतै सडकको अधिकार क्षेत्रका कारण पछि घर भत्कने भन्दै अर्कातिरबाट लैजान माग भइरहेको छ । उनले भने, “यी स्थानमा पनि योजना कार्यालयहरुले आवश्यक समन्वय गरिरहेका छन् ।”

आयोजना निर्माण सम्पन्न गर्न तोकिएको अवधि झण्डै तीन वर्ष बाँकी हुँदा अझै कतिपय स्थानमा ‘एलाइनमेन्ट’ परिवर्तनको माग भएको छ । त्यस्ता समस्या भएका स्थानमा बाहेक अन्यत्र तोकिएको अवधिमा आयोजना सम्पन्न हुने प्रमुख केसीको भनाई छ ।

कतिपय स्थानमा मध्यपहाडी लोकमार्गकै स्तरमा नसकिए पनि सडक निर्माण गरिसकिने उनको जिकिर छ । “आव २०७९र८० सम्ममा पूरै सडक मोटर गुड्ने हुनेछ ।” उनको दाबी छ ।

राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । सोहीबमोजिम सरकारले मध्यपहाडी राजमार्ग नामकरण गरी आव २०६४र६५ बाट आयोजना शुरु गरेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

सरकारले आव २०६९र७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको छ । यस राजमार्र्गको कुल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक रहेको छ । झण्डै ८७९ किमी नयाँ सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्