Logo

प्रहरीका दुःखः जवानबाट हवल्दार हुन १५ वर्ष, सइबाट इन्सपेक्टर हुन १७ वर्ष



काठमाडौं, ७ कात्तिक । नेपाल प्रहरीको बढुवामा हुने चलखेल नौलो कुरा भएन । कार्यक्षमता होइन शक्तिकेन्द्रसँगको निकटताका आधारमा बढुवा तय हुन्छ ।

प्रहरीको दुई वटा तहको प्रहरीको भने थप पीडा छ । कम्तीमा १५ वर्ष नभई बढुवाको पालो नै आउँदैन । जवानबाट हवल्दारमा तथा सईबाट इन्सपेक्टर बढुवामा यस्तो समस्या रहेको छ ।

२०६३ सालमा जवानमा भर्ना भएकाहरु केही महिनाअघि बल्ल हवल्दारमा बढुवा भएका थिए । त्यसबेला भर्ना भएका कपिपय अहिले पनि बढुवा भएका छैनन् । ३० वर्षे जागिरमा एक तह बढुवा हुनै १५ वर्षभन्दा लामो समय लाग्दा जागिरप्रति वितृष्णा हुने गरेको प्रहरी जवान तथा हवल्दारको गुनासो छ । यस्ता समस्या समाधानका लागि विगतदेखि नै छलफल पनि हुँदै आएको छ । जवान र हवल्दारको बीचमा वरिष्ठ हवल्दार पद राख्नुपर्ने माग विगतमा पनि उठेको थियो । तर, प्रहरी नेतृत्वले प्राथमिकता दिन सकेन । सशस्त्र प्रहरीले पहिलेदेखि नै वरिष्ठ हवल्दारको पद छ । सेनामा पनि विभिन्न पदहरु भएकाले छिटो बढुवा हुन्छ । तर, नेपाल प्रहरीमा भने समस्या छ ।

त्यस्तै प्रहरीमा प्रहरी नायब निरीक्षक(सइ)बाट प्रहरी निरीक्षक(इन्सपेक्टर)मा बढुवा हुन पनि करिब १७ वर्ष नै लाग्ने गरेको छ । १७ वर्षअघि सइ भएकाहरु अहिले पनि बढुवा हुन सकेका छैनन् । सइ र इन्सपेक्टरको बीचमा बरिष्ठ सइको पद राख्नुपर्ने माग उठ्नै आएपछि प्रहरी नेतृत्वले चासो दिएको छैन । बढुवामा लामो समय लाग्ने समस्या समाधानका लागि प्रहरीले अब नयाँ योजना बनाउने प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतको भनाई छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्