Logo

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा



सर्लाही, ७ कात्तिक: उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।

किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन । उद्योगका उखु क्यान म्यानेजर अजित सिंहले यो सिजन शुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको उनको भनाइ छ ।

गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको उद्योगले जनाएको छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका महाप्रवन्धक (जिएम) टेक्निसियन राजेन्द्र चौधरीले बताए । “उद्योग कहिलेबाट सञ्चालन हुन्छ, हामीलाई थाहा छैन”, उनले भने, “तर, सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार गर्दैछौँ ।”

उद्योगको स्टोरमा पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस मौज्दात रहेको बताउँदै स्टोर म्यानेजर एचपी शुक्लाले उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको छ भने । “सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ”, उनले भने, “हामीलाई भुक्तानी र स्टोरको सामान बिक्री–वितरणबारे कुनै जानकारी छैन ।”

यता उद्योगका मजदूरले काम गरेको तलबबापतको भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताए । यता उद्योगमा आएको विभिन्न समस्यका कारण किसानसँगै उद्योगका मजदूरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ ।

गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदूरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ । उनले मजदूरको भुक्तानी चाँडै हुने बताए । उद्योगमा ९२ जना मजदूर कार्यरत छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म लगभग १८ लाख तलब भुक्तानी बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ ।

यता किसानले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताएका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएको उनीहरू उद्योगप्रति आक्रोशित छन् ।

अनुदानको खेल

अघिल्लो सिजनमा सञ्चालनमा आउन नसकेको उद्योग एक्कासी सञ्चालनको तयारी गर्नुले किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल हुन सक्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।

यत्रो समय किसानले सङ्घर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासी करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने उनको भनाइ छ । “यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ”, उनले भने, “होइन भने त्यहाँका किसानको अनेक बहानामा रोकेको उखुको भुक्तानी दिने हो भने खोइ त तयारी ?” अध्यक्ष मैनालीले उद्योगले अझै किसानको रु २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाडौंबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्लामा अन्नपूर्णसहित तीनवटा चिनी उद्योग छन् । तीमध्ये गत सिजनमा हरिवन– ११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्