Logo

कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक



दमौली, ७ कात्तिक: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारका कैदीबन्दीले आ–आँफै टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफै टीका लगाई, शुभकामना आदानप्रदान गरी दशैँ मनाउने तयारी गरेका छन्”, उनले भने ।

कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ । “सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्”, प्रमुख अधिकारीले भने ।

केही कैदीबन्दीले दशैँको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् । “मुढा बिक्री गरेर प्रत्येक वर्ष कैदीबन्दीले दशैँको बेला परिवारमा पठाउने गर्छन्, अहिले पनि केहीले रकम पठाएका छन्”, उनले भने ।

बिहीबारसम्म कारागारमा १५२ कैदीबन्दी र ६४ थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको हो । तर उक्त भवनमा पनि क्षमताभन्दा बढी कैदी राखेर बाँकी कैदीबन्दीलाई पुरानो भवनमा व्यवस्थापन गरिएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्