Logo

‘पहिला/पहिला नेपाली नेता लाईन लागेर ईण्डियामा धाउँथे, यसपटक भारतका रअ प्रमुखदेखि सेनाअध्यक्ष नेपाल आउँदैछन्’ : श्रेष्ठ



परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतको रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भनेर टिप्पणी गर्न नहुने तर्क गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीच ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै दुई देशबीचको सम्बन्ध सम्वादहिनताको अवस्था हुन नहुने भन्दै रअ प्रमुखको भ्रमणले सम्वादहिनता तोड्न मद्दत पुग्नुपर्ने स्पष्ट पारे । प्रस्तुत छ पूर्वराजदूत श्रेष्ठसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल–भारत सम्बन्धमा अब सुधारको संकेत देखिएको हो ?

नेपाल–भारत सम्बन्ध धेरै पूरानो र ऐतिहाँसिक सम्बन्ध हो । भारत हाम्रो धेरै नजिकको छिमेकी हो । वार्ता गर्नैपर्छ । सम्वाद गर्नैपर्छ । विभिन्न तहबाट सम्वादहिनतालाई तोड्ने प्रयास गर्नुपर्छ । ढिलो चाँडो यो दिशामा बढ्छ भन्ने मलाई लाग्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय रअ प्रमुख सामन्त कुमार गोयलले भेटिसकेपछि नेपाली राजनीति तरंगित भयो नि ? किन ? यहाँको व्यक्तिगत टिप्पणी के छ ?

अब एक त कोरोनाले न्यूज नभएको, त्यही भएर ठूलो न्यूज भयो । अर्को कुरा, रअ प्रमुख पहिलोपटक नेपाल आएको होईन नि। सन् २०१९ मा सामन्त गोयल रअ प्रमुखमा नियुक्त भएको एक महिनापछि नै नेपाल आउनुभएको हो । रअ प्रमुख नेपाल नआएको वर्ष नै छैन् । यसपालि देखिनेगरि÷नदेखिनेगरि प्लने ल्याण्ड गर्नुपरेको हुनाले यो थाहा भयो । र, प्रधानमन्त्री कार्यालयले पनि रअ प्रमुख आएको हुन र भेटेको भनेर प्रष्ट पारिसकेको छ । भेट्नु हुँदैन, आउनुहुँदैन भन्ने कुरा होईन । यो कुनै आश्चर्यजनक कुरा होईन । उनीहरुले नेपाललाई सेक्युरेटी आँखाबाट हेरिराखेका छन् । त्यसैले आईराखेका छन् । यसपालि पनि आए । अब आउँदाखेरि दुई देशबीचको सिमा विवादको समस्या सुल्झाउनुपर्यो । तराई डुबानका कुरा सुल्झाउनुपर्यो । यावत समस्याहरु राखेर त्यसको लागि मद्दत गर भनेर हामीले भन्ने हो । उनीहरुको कुरा सून्ने भन्दापनि आफ्नो राष्ट्रिय अडान र हितका कुरा राख्न नचुक्ने कुरा ठूलो हो । एक त भारतको कमाण्डर–ईन–चिफ नेपाल भ्रमणमा आउँदैछन् । त्यसको लागि वातावरण बनाउनुपर्यो । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयुक्त संयन्त्र छ । त्यसको संयुक्त बैठक तुरुन्त राख्न मद्दत गर भन्नुपर्छ । नाकाबन्दीको बेलामा पनि नेपालको कमाण्डर–ईन–चिफ ईण्डिया गएर त्यहाँको कमाण्डर–ईन–चिफसँग कुरा गरेको थियो । त्यहाँको आर्मी चिफले प्रधानमन्त्री मोदीलाई भनेर नाकाबन्दी हटाउनको लागि अप्रत्यक्ष योगदान गरेको थियो । भनेपछि मिलिटरी डिप्लोमेसी हुन्छ । सेक्युरिटी डिप्लोमेसी हुन्छ । वार्ता गर्ने वातावरणतर्फ लाग्नुपर्छ । आफ्नो अडान राख्नुपर्छ । यथार्थमा के हो भने नेपाललाई सेक्युरिटी स्वार्थबाट हेर्ने भएकोले सेक्युरिटी चिफलाई भेटेको भए हुन्थ्यो । तर, नेपालमा अहिले सबै कुरा प्रधानमन्त्रीले हेर्ने भएको हुनाले टुँग्गिने कुरा भएकोले । भेट भएको हो ।

हाम्रो देशमा रअको प्रभाव धेरै छ नि ? तपाईँले कसरी हेर्नुभएको छ ?

रअको प्रभाव हुनुहुँदैन् । नेपालभित्र नेपालकै प्रभाव हुनुपर्छ । रअसँग पनि राम्रो सम्बन्ध र समझदारी कायम गरेर उसलाई पनि प्रयोग गर्न जान्नुपर्छ । नेपाली जनताको भावना बुझेर र नेपालसँगको महत्वलाई बुझेर समस्याको समाधान गर, समस्या पाल्ने होईन भनेर हामीले भन्नुपर्छ । आर्मी चिफले त नाकाबन्दी हटाउन सेक्युरिटी डिप्लोमेसी गर्यो भने अहिले रअ प्रमुखलाई पनि सिमा समस्या समाधानको लागि भन्नुपर्छ ।

रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको कुरा गर्दा प्रोटोकल नमिलेको भनेर बाहिर कुरा आईरहेको छ नि ? तपाईको धारणा के हो ?

प्रोटोकल प्रमुख कुरा होईन । मुख्य कुरा के हो राष्ट्रिय हितको पक्षमा वकालत गर्छ कि गर्दैन् ? वार्ताको वातावरण बनाउनको लागि प्रयास गर्छ कि गर्दैन् ? त्यो त रिजल्टबाट हेर्ने कुरा हो । रिजल्टअनुकुल भएन, अर्काको प्रभावमा पर्ने भयो भने त्यो घातक हुन्छ । त्यस्तो चाहीँ गर्नुहुँदैन् ।

उसो भए प्रधानमन्त्रीले रअ प्रमुखसँग भेट्दाखेरि प्रोटोकल मिलेन भनेर आपत्ति प्रकट गर्नुपर्दैन् ?

होईन, पहिले पनि आएर भेटेको थियो । पहिले ईण्डिया गएर लाईनमा बसेर गुप्तचरवालाहरुलाई भेट््ने गर्दथ्यो । तर, यो भेट त देखिनेगरि भएको छ । नढाँट्नु । नछुपाउनु र राष्ट्रिय हितमा कुरा राख्ने कुरा कहिल्यै नछोड्नु र नचुक्नु । त्यो भए भेटे हुन्छ । त्यो भएन भने गोप्य रुपमा भेटेपनि हुँदैन् । खुल्ला रुपमा भेटेपनि हुँदैन् । यदि सम्वादहिनताको अवस्था तोड्छ, यसले वार्ताको लागि वातावरण बनाउँछ भने राम्रो हुन्छ ।

प्रधानमन्त्री र रअ प्रमुखबीच के कुराकानी भयो ?

उहाँहरुबीच के के कुरा भयो, त्यो सार्वजनिक गर्दा राम्रो हुन्छ । लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा र महत्वपूर्ण भनेको नै पारदर्शीता जनताप्रति जवाफदेहिता हो । त्यो हुनुपर्छ ।

अब नेपाल–भारत द्धिपक्षीय सिमा विवाद समाधान होला त ? रअ प्रमुखको नेपाल भ्रमणपछि भारत सिमा विवाद समाधान गर्न वार्ताको लागि तयार होला त ? के भन्नुहुन्छ ?

 

पहिला/पहिला नेपाली नेता ईण्डियामा धाउँथे । यसपटक रअ प्रमुखदेखि सेनाअध्यक्ष नेपाल आउँदैछन् । उनीहरुलाई चटारो परेको छ । सबैसँग उसको सम्बन्ध बिग्रिएको छ । भारतको अहिले चीन र पाकिस्तानसँग सम्बन्ध बिग्रिएको छ । नेपालसँगपनि सम्बन्ध बिग्रँदा त्यो भारतको हितमा हुँदैन् भन्ने कुरा त्यहाँको सुरक्षा निकाय/सेनाले रियलाईजेशन गरेको बुझिन्छ । यो रियलाईजेशन त्यहाँको कुटनीति र राजनीतिक बागडोर सम्हाल्नेहरुले गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्