Logo

नेकपाको दुई समूहबीच झडपमा चौरसियाको मृत्युले जन्मायो प्रश्न, काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति



वीरगञ्ज, ९ कात्तिक । पर्साको विन्दबासिनी गाउँपालिकामा भएको झडपमा नेकपा विन्दावासनी गाऊँपालिका पार्टी सचिव मुकेश चौरसियाको मृत्यु भएको घटनाले गम्भीर रुप लिएको छ । चौरसियाको न्यूरो हस्पिटलमा उपचारको क्रममा ६ कात्तिकमा मृत्यु भएको थियो ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो ।

घाइतेमध्ये अर्का गम्भीर अवस्थामा रहेका उत्तम तिवारीसहित घाइते हुनेहरु महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायतको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराएका छन् ।
पूर्वसांसद राजकुमार गुप्ताको घरबाट प्रहरीले कार्यकर्तालाई पक्राउ गरेको थियो । कार्यक्रम स्थल र गुप्ताको घरबाट गरी ८ जना पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

यसैगरी, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्तिमार्फत् नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्