Logo

चेन्नईको चौँथो जित, कोहलीको बैँग्लोर पराजित



कात्तिक ९, काठमाण्डौ । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

दुबईमा आइतबार भएको खेलमा चेन्नईले बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे । ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए । चेन्नईका साम करणले ३ विकेट लिए । यस्तै दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए ।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो । चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ । र, चेन्नई सातौं स्थानमा उक्लिएको छ । बैंगलोर भने शीर्ष स्थानमा उक्लन असफल भएको छ । बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्