Logo

जेठसम्ममा काँग्रेस महाधिवेशन गर्नुपर्नेमा डा. शेखर कोइरालाको जोड



काठमाडौं, १० कात्तिक। नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कोरोनाकै बीचमा पनि आगामी जेठसम्ममा महाधिवेशन गर्ने संकल्प आज दशैको दिनमा गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले दशैंको शुभकामना दिदै संकल्पका साथ महाधिवेशनमा लाग्नुपर्ने समेत बताए ।

“कोरोनाकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने बारेमा आजैदेखि बहस चलाइयोस्, नेतृत्वलाई म यही सुझाव दिन र आग्रह गर्न चाहन्छु,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

आगामी महाधिवेशनमा पार्टी सभापतिका आकांक्षी समेत रहेका कोइरालाले कोरोनालाई बाहना बनाएर महाधिवेशन नै नगर्ने बाटोमा पार्टीहरु जाने हुन की भन्ने आशंका बढ्दै गइरहेको पनि बताए। नेता कोइरालाले भने, “संघीय संसदमा रहेका मुख्य चार ओटै पार्टीको महाधिवेशन गर्नुछ, चारै पार्टीको नेतृत्वले महाधिवशेन टार्दै लैजाने सहमती गर्ने हुन की भन्ने डर पो लागेको छ ।”

”पार्टीहरु महाधिवेशन नगर्ने बाटोमा जाने हो भने मुलुकको राजनीति र लोकतन्त्रको अवस्था के होला ?” उनले प्रश्न गरे । पार्टी प्रवेश कार्यक्रमहरु धमाधम गरिरहन मिल्ने तर साना साना भेलाबाट हुन सक्ने स्थानीयस्तरका अधिवेशनहरु भने हुन नमिल्ने कुराले पनि आशंका जन्माएको टिप्पणी गरे ।

“पाँच हजार मान्छेलाई भेला गरेर अर्को बर्षको भदौमा पनि महाधिवेशन गर्न सकिदैन, त्यसैले कोरोनाका बीचमा पनि कसरी गर्न सकिन्छ भन्ने संकल्प र बहस आजैदेखि होस, दशैँमा यही छ शुभकामना,”उनले भने ।



प्रतिक्रिया दिनुहोस्