Logo

पोल्याङ खानेपानी योजनाका लागि बहुवर्षीय बजेट



तनहुँ, १० कात्तिक: तनहुँको व्यास नगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणका लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ ।

चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाका लागि सङ्घीय सरकारबाट रु. पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो । चालु आर्थिक वर्षका लागि रु.८० लाख विनियोजित भई बोलपत्र आह्वान गरिएकोमा रु.६० लाखमा स्वीकृत भई काम भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

तीन वर्षअघि बोरिङ खन्ने कार्य सम्पन्न गरे पनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ । पम्प हाउस निर्माणपछि रिजर्भ ट्याङकीसम्म जिआई पाइप र विद्युत्लाइन जडान गर्ने योजना रहेको पोल्याङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिनुभयो । सिसा खोला र बुल्दीखोलाको दोभानबाट करिब साढे दुई किलोमिटर लामो दूरीमा पर्ने निर्बु डाँडामा पानी लिफ्ट गरी दुई लाख लिटर क्षमताको रिजर्भ ट्याङकीमा सङ्कलन गरेर घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।

स्थानीय बराह खोलाबाट विसं २०५७ मा ल्याएको पानीले १९ वटा धारा जडान गरी त्यसक्षेत्रमा पानी वितरण गर्दै आए पनि घरधुरी सङ्ख्या बढ्दै गएकाले पानीको समस्या हुन थालेको हो । विगतका वर्षदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीयवासीले पोल्याङ लिफ्ट खानेपानी योजनाको लागि बजेट निकासा भई काम शुरु गरेपछि खुशी हुन थालेको समितिका सचिव रमेश आचार्यले बताए ।

आयोजनाका लागि स्थानीय उपभोक्ताले रु.चार लाख सङ्कलन गरी बैंकमा धरौटी राखेर निर्माण कार्य अघि बढाइएको अध्यक्ष नहर्कीले बताए । बोरिङ हाउस निर्माणका लागि स्थानीय गणेशराज अधिकारीले तीन आना जग्गा निःशुल्क रुपमा आयोजनालाई दिई मालपोत कार्यालयबाट रजिष्टेशन पास गरिदिएर सहयोग गरेका छन् । यस आयोजनाबाट हाललाई ३५० घरमा धारा पु¥याउने र जनसङ्ख्या बढ्दो क्रममा रहेकाले भविष्यमा एक हजार घरधुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भइरहेको समितिका सचिव आचार्यले जानकारी दिए ।

बराहखोलाबाट ल्याई वितरण गरिएको पानीले आपूर्तिमा सहज नभएपछि स्थानीयवासीले खानेपानीको चर्को सामना गर्नुपरेको छ । योजनाको निर्माण कार्य शुरु हुन थालेसँगै अब भने त्यसक्षेत्रका बासिन्दाले खानेपानी राहतको महसुस गर्न पाउने विश्वास गरिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्