Logo

मुकेश चौरसियाको लासमाथि नेकपाको राजनीति



कात्तिक १२, काठमाण्डौ । नेकपा पर्साको विन्दवासनी गाउँपालिकाको कमिटी सचिव मुकेश चौरासियाको हत्या भएको एक हप्ता भइसक्यो । टाउकोमा बाँसको लाठी प्रहारले गम्भीर घाइते भएका ४२ वर्षीय चौरसियाको शुक्रबार बिहान करिब १० बजेको समयमा वीरगन्जस्थित एल.एस.न्युरो हस्पिटलमा मृत्यु भएको थियो । हत्यामा संलग्न भएका भनिएका व्यक्तिविरुद्ध दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।

झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बिहीबार साँझ करिब ५ बजेको समयमा नियन्त्रणमा लिइएका गुप्तालाई प्रहरीले राति ९ बजे छोडेको थियो । गुप्ता प्रहरी नियन्त्रणमा रहेको जानकारी पाएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बशरुद्दीन अन्सारी पनि जिल्ला प्रहरी कार्यालय आइपुगेका थिए । अर्को पक्षका दुई जना घाइतेको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

चौरसियाको अवस्था गम्भीर बनेको खबर आएपछि मेडिकलमा उपचाररत उत्तम तिवारी र चिन्टु तिवारी भागेका थिए । हालसम्म उनीहरु फरार नै छन् । दुई जना अस्पतालबाटै भागेपछि प्रहरीले बशरुद्दीनलाई पनि केही बेर सोधपुछ गरेको थियो । शुक्रबार चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर प्रहरीले जाहेरी लिन मानेन ।

आरोपिविरुद्ध जाहेरी लिन नमान्नुमा नेकपा केन्द्रबाट दबाब परेको भनिएको छ । र मृत्यु हुने चौरासिया पूर्व नेकपा माओवादी केन्द्रका नेता हुन र हत्याका आरोपिहरु पूर्व नेकपा एमालेका नेताहरु हुन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि नेकपा पर्साका इन्चार्ज, सचिव, गाउँपालिका अध्यक्षलगायतका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् । धर्नामा पूर्वमन्त्री तथा नेकपा नेता मात्रिका यादवले सहभागिता जनाएका छन् ।

नेकपा अध्यक्ष दाहालले कात्तिक ९ मा विज्ञप्ति जारी गरी चौरसियाको हत्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको दाहालले बताएका छन् । अर्का अध्यक्ष केपी ओली प्रधानमन्त्री, पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री भएको अवस्थामा दाहाल पक्षधर नेताको हत्या हुनु र किटानी जाहेरी नलिनुले शक्ति संघर्ष चुलिएको अनुमान गर्न धेरै कठिन छैन ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालेसमेत कात्तिक ८ मा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्