Logo

अम्लीय फलफूल निर्यात चीनतिर गर्ने सहमति



काठमाडौं, कार्तिक। नेपालमा उत्पादित अम्लीय जातका फलफूल चीन निर्यात गर्न नेपाल र चीन सरकारबीच भएको सहमति कार्यान्वयनको प्रक्रियासमेत शुरू हुन सकेको छैन ।

गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभाग सुन्तलालगायतका अम्लीय जातका फलफूल निर्यातका लागि सहमति भएको थियो ।

सहमति अनुसार काम भएको भए गतवर्षको सिजनदेखि नै नेपालबाट चीनको तिब्बतस्थित जिजान क्षेत्रमा सुन्तला जातका फलफूल निर्यात शुरू भइसक्नुपथ्र्यो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म उक्त सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार मन्त्रालयले उक्त सम्झौता चाँडै कार्यान्वयनका लागि बजेट छुट्ट्याएर काम अघि बढाएको छ । करीब ३ महीनाअघि नेपाल सरकारले निर्यातका लागि आवश्यक प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई पठाएको भए पनि हालसम्म उक्त प्रोटोकलबारे चिनियाँ पक्षले कुनै पनि जवाफ नपठाएको उनले बताए ।

‘चिनियाँ पक्षको जवाफ कुरिरहेका छौं उताबाट जवाफ आएपछि फिल्डको काम शुरू हुन्छ, तर जवाफ कहिले आउँछ टुङ्गो छैन,’ उनले भने । पहिलो चरणमा सिन्धुली र स्याङ्जाको सुन्तला सुपरजोनलाई आधार बनाएर काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने सहमतिपत्रमा उल्लेख थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तलालाई स्वच्छ नमानेका कारण यस्तो प्रक्रिया अपनाइने बताइएको थियो ।

नेपालमा आर्थिक वर्ष २०७३र७४ देखि जुनार सुपरजोन लागू भएपछि जुनारखेती गर्ने किसानहरूको संख्या बढेको छ । विशेषगरी यी जातका फलफूलहरू नेपालका पहाडी जिल्लाहरू रामेछाप, सिन्धुली, डोटी, डँडेलधुरा, बैतडी, ओखलढुङ्गा, लमजुङ, धनकुटा, पाल्पालगायत जिल्लामा उत्पादन गर्ने गरिन्छ ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ७७ हजार मेट्रिकटन सुन्तला, ३९ हजार ५ सय ८० मेट्रिकटन कागती र ४३ हजार मेट्रिकटन जुनार उत्पादन हुने गर्छ । नेपालमा करीब ६५ जिल्लामा सुन्तला जातका फलपूmल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्