Logo

गोकर्ण निकुञ्ज : जनावरबाट अन्नबाली नष्ट



काठमाडौँ, १६ कात्तिक: नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–५ कोलमतेश्वरका भगवान् सिम्खडा निकुञ्जबाट रातिको समयमा निस्कने जनावरले अन्नबाली नष्ट गर्ने गरेको गुनासो गर्छन ।

निकुञ्जको करीब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये उत्तरवाहिनी क्षेत्रको धेरै भाग भत्किएको छ । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल भत्किएर किसानले खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको विषयमा कार्यालयमा पटकपटक जानकारी गराइएको बताए । दशैँअघि कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले यस क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए ।

सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकललगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । यस क्षेत्रको पर्खाल भने कतै भत्किएको छ भने कतै जीर्ण छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ । खुला स्थानबाट जनावर निस्किएर अन्नबाली खाने, नष्ट गर्ने गरिरहेका छन् ।

गोकर्णबाट जोरपाटी निस्कने सडक विस्तार भइरहेकाले धेरैजसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । विस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहनुभएका दिलेन्द्र रायमाझी बताए । पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको यस क्षेत्रका कृषकको गुनासो छ । नेपाल ट्रष्टको कार्यालयमा यससम्बन्धी गुनासा धेरै पटक गरिएको वडाध्यक्ष श्रेष्ठले सुनाए । वर्षौंदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रूखलगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रष्टको कार्यालयको एकाइ कार्यालय दक्षिणढोकामा छ । जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।

एकाइ कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौंअघि देखि नै जानकारी गराउँदै आएको बताए । पर्खाल बनाउन चालू आर्थिक वर्षमा ठेक्का भएकाले छिट्टै काम हुने पनि उनले सुनाए । कार्यालयसँग बजेट भए पनि खर्च गर्ने व्यवस्था नहुँदा पर्खाल बनाउन ढिला भएको उनको भनाइ छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्