Logo

विपन्‍नले कसरी बाँच्‍ने? महानगर भन्छः ‘खुलामञ्‍चमा खाना नबाँड्नू’



काठमाडौं, कार्तिक १८ । अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय जनालाई निःशुल्क खाना वितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्‍यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनले बताए । ‘मेयर साबको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौं,’ उनले भने ।

ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा खाना खुवाउन थालेको सोमबार ३७ दिन पुगेको छ । प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् । खाना खुवाउने ठाउँमा फोहोर नगरेको उनको दाबी छ । ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो,’ ढुंगानाले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्