Logo

भारतीय सेनाध्यक्षको भ्रमणः सम्बन्ध सुधारमा ग्रिन सिग्नल



काठमाडौं, कार्तिक २२ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको हो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्