Logo

सुरक्षित प्रसूति सेवा गाउँमै



बागलुङ, २२ कात्तिक: सुरक्षित प्रसूतिका लागि घण्टौँ लगाएर स्वास्थ्यचौकी पुग्नुपर्ने तमानखोला गाउँपालिका–६ का महिलाको बाध्यता हटेको छ । नर्जाखानीमा रहेको सामुदायिक स्वास्थ्य एकाइले गत साउनयता प्रसूति केन्द्र सञ्चालनमा ल्याएपछि सेवा सहज बनेको हो ।

गाउँमै प्रसूति सेवा शुरु भएपछि नर्जाखानी, भित्रीवन र पात्लेका स्थानीयवासी खुशी छन् । यसअघि सुरक्षित प्रसूति गराउन गर्भवतीलाई वडा नं ५ स्थित खुङ्खानी स्वास्थ्यचौकी पु¥याउनुपथ्र्यो । कतिपय गाउँपालिकाको केन्द्र बोङ्गादोभान नै जान्थे ।

विकट भूगोलका कारण वडा नं ६ का बस्तीबाट पैदलै खुङ्खानी आउन झण्डै तीन घण्टा लाग्छ । मोटरमा एक घण्टा । नर्जाखानीमा दुई वर्षअघि सडक पुगे पनि वर्षायाममा यातायात रोकिन्छ । सडक बन्द हुँदा गाउँलेले गर्भवतीलाई बोकेरै स्वास्थ्यचौकी लैजानुपथ्र्यो ।

जङ्गल र भिर–पहराको बाटो जोखिम उस्तै हुन्थ्यो । स्वास्थ्यचौकी टाढा भएपछि अधिकांश घरमै सुत्केरी हुन्थे । जटिल अवस्थामा स्वास्थ्य संस्था लैजाँदै गर्दा कतिपय गर्भवतीले बाटैमा शिशुलाई जन्म दिन्थे । आमाले स्वास्थ्य जटिलता भोग्नुपथ्र्यो । अब भने त्यो स्थिति छैन । “बच्चालाई खोप लगाउन पनि दुई घण्टा हिँडेर खुङ्खानी जानुपथ्र्यो, प्रसूति केन्द्रले महिलालाई झन् धेरै सुविस्ता हुने भयो”, ४३ वर्षीया मनकुमारी छन्त्यालले भने । उनले गाउँमा सडक आउला, विकास होला भनेर आफूले कहिल्यै नसोचेको बताए।

विसं २०७३ कात्तिकमा सामुदायिक स्वास्थ्य एकाई खुलेपछि स्थानीयवासीले नियमित खोपलगायतका आधारभूत स्वास्थ्य जाँच तथा उपचार सेवा पाउँदै आएका छन् । चालु आवदेखि गर्भजाँच र प्रसूति सेवा थप गरिएको एकाइका इञ्चार्ज लक्ष्मी छन्त्यालले बताए । हालसम्म केन्द्रमा प्रसूति हुनेको सङ्ख्या भने शून्य नै छ । प्रसूति केन्द्रका लागि उपकरण खरिदलगायत पूर्वाधारमा रु पाँच लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

उनका अनुसार तीन स्वास्थ्यकर्मी र एक सहयोगी करारमा कार्यरत छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले एकाइको सञ्चालन र व्यवस्थापन खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको बताए । स्वास्थ्यकर्मीको खटनपटन पनि गाउँपालिकाकै बजेटबाट हुँदै आएको छ ।

स्वास्थ्यचौकी नभएका वडा नं ६ सँगै वडा नं ४ को लाम्मेला र वडा नं २ को बोङ्गाखानीमा सामुदायिक स्वास्थ्य एकाई सञ्चालित छ । यस्तै स्वास्थ्य संस्थादेखि एक घण्टाको दूरीमा रहेका बस्तीमा गाउँपालिका आँफैले प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको छ । वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा सञ्चालित केन्द्रमार्फत प्राथमिक उपचार र स्वास्थ्य परामर्श उपलब्ध हुँदै आएको छ । वडा नं १ बोङ्गादोभान, वडा नं ३ तमान र वडा नं ५ खुङ्खानीमा भने स्वास्थ्यचौकी छ । बोङ्गादोभानको स्वास्थ्यचौकी अब भने ‘कोभिड अस्पताल’का रूपमा रहनेछ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्