Logo

निजी आवास निर्माणको अनुदान वैशाखसम्म लिनैपर्ने



काठमाडौं, कार्तिक २३ । भूकम्पबाट क्षति भएका निजी आवास निर्माण गर्ने अनुदान किस्ता लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तोकेको छ । २०७२ को भूकम्पपछि पाँचवर्षे कार्यावधिसहित गठन भएको प्राधिकरणको कार्यकाल सकिन लागेको भन्दै तीनओटै किस्ताका अनुदान लिन लाभग्राहीलाई अन्तिम समयसीमा तोकिएको हो ।

प्राधिकरणका अनुसार मङ्सिर मसान्तसम्ममा अनुदान सम्झौता गरिसकेका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ पुस १५ सम्ममा पहिलो किस्ता, निजी आवास÷घर निर्माण शुरू गरेकाले माघ मसान्तसम्ममा दोस्रो र २०७८ वैशाख मसान्तसम्ममा तेस्रो तथा अन्तिम किस्ता लिन म्याद थप गरेको छ । प्राधिकरणको कार्यकारी समितिको शुक्रवार बसेको बैठकले अनुदानका लागि सम्बन्धित स्थानीय तहमा तोकिएका नयाँ मितिमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने निर्णय गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रबलीकरण लाभग्राहीलाई छिट्टै सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

यसैगरी भूकम्पबाट क्षति भएकामध्ये ५ वर्षको अवधि हालसम्म ५ लाख ७ हजार ६२३ निजी आवास निर्माण भइसकेका छन् भने ७ लाख १० हजार २६८ घर निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणको तथ्यांक छ । निजी आवास निर्माणमा सकारात्मक प्रगति हासिल गरेको प्राधिकरणले अनुदान सम्झौता गर्ने लाभग्राहीकोे संख्यासमेत घटाउँदै आएको छ । भूकम्पबाट निजी आवास गुमाएका लाभग्राहीमध्ये हालसम्म ७ लाख ९१ हजार ७६७ जनासँग अनुदान सम्झौता भइसकेको छ ।

लाभग्राहीको सूचीमा पर्नेको संख्या ८ लाख ६६ हजार ६० रहेको छ । यसअनुसार अझै ७४ हजार २९३ जना लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी छ । यसैगरी पहिलो किस्ता लिनेको संख्या ७ लाख ८४ हजार ९५०, दोस्रो किस्ता ६ लाख ७७ हजार ९५ र तेस्रो किस्ता लिनेको संख्या ६ लाख ५ हजार ८३ पुगेको छ । सरकारले भूकम्पपीडितका निजी आवास बनाउन तीन चरणमा गरी रू। ३ लाख अनुदान दिँदै आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्