Logo

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त



खोटाङ, कार्तिक २३ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो ।

एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिनसम्ममा प्रहरी हवल्दारका लागि सात र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना आह्वान गरिने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

सात वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको जनाइएको छ । गाउँप्रहरी हवल्दारका लागि एसइई वा सोसरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको छ ।

हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । गाउँप्रहरीसँगै चार अहेव ९सहायक चौथो० र तीन अनमी ९सहायक चौथो० नियुक्तिका लागि समेत दरखास्त आह्वान गरेको थियो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको नगरपालिकामा नगर प्रहरी भर्नाका लागि नगरसभाबाटै नीति पारित गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्