Logo

सहुलियतपूर्ण ऋण प्रवाह गर्दै स्थानीय तह



सिन्धुपाल्चोक, कार्तिक २४। सिन्धुपाल्चोकका स्थानीय तहले आफ्ना नागरिकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्न थालेका छन् । गाउँमै बसेर उद्यम गर्न चाहनेलाई लक्षित गर्दै स्थानीय तहहरूले यस्तो योजना शुरू गरेका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले ‘सहुलियतपूर्ण कर्जा’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमका लागि नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बुधवार सम्झौता समेत भइसकेको नगर प्रमुख अमानसिं तामाङले जानकारी दिए । सम्झौतापछि कृषि तथा लघु उद्यम गर्न चाहने युवाले २ प्रतिशत ब्याजदरमा ऋण लिन सक्ने भएका छन् । चालू आर्थिक वर्षमा नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको १ करोड र नेपाल बैंकले थप १ करोड गरी २ करोड रुपैयाँ ऋण प्रवाह हुनेछ । उद्यममा लाग्न चाहने नगरवासीले बैंकको नियमानुसार विनाधितो २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म ऋण लिन पाउने नगरपालिकाले बताएको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका र विदेशबाट फर्किएका युवालाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिका उपप्रमुख जानुका पराजुलीले बताइन् । स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि २०७७’ बनाएर युवालाई उक्त सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उनले जानकारी दिइन् । उनका अनुसार यस कार्यक्रमबाट कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर, सुखी नगरवासीको आकांक्षा पूरा गर्न सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउन लागिएको नगरपालिकाले बताएको छ ।

त्यस्तै लिसंखुपाखर गाउँपालिकाले पनि ‘अध्यक्ष उद्यमशीलता कार्यक्रम’ शुरू गरेको छ । उद्यम गर्न चाहने गाउँपालिकाभित्रका बासिन्दालाई लक्षित गरेर विनाधितो ऋण अनुदान प्रक्रिया शुरू गरिएको हो । गाउँपालिकाले विनाधितो १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन यसअघि नै नेपाल बैंकसँग सम्झौता गरिसकेको छ ।

गाउँपालिकाले उद्यम गर्न चाहनेहरूका लागि १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम शुरू गरेको थियो । बैंकसँग दशैंअघि नै सम्झौता भए पनि कोरोना महामारीका कारण केही समय कार्यालय बन्द भएपछि अहिले यसका लागि निवेदन माग भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्