Logo

भारतीय सेनाअध्यक्ष फर्किएलगत्तै विदेश सचिव श्रींगला नेपाल आउने तय



काठमाडौं, २५ कार्तिक । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि यही नोभेम्बर २६ तारिख नेपाल आउने भएका छन्। हिन्दुस्तान टाइम्सले श्रींगला काठमाडौं आउने समाचार लेखेको छ । यसअघि भारतीय सेनाअध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालको तीन दिने भ्रमण गरेका थिए । सेनाअध्यक्षभन्दा पनि अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेका थिए । नेपाल बसाईको क्रममा गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगमात्रै भेटवार्ता गरेको कुरा बाहिर आएको छ ।

रअ प्रमुख गोयल र सेनाअध्यक्ष नरवणेले नेपाल भ्रमण गरेलगत्तै भारतले विदेश सचिवलाई नेपाल पठाउने तयारी गरेको हो । भ्रमणका क्रममा श्रींगलाले समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय नेपाल–भारत सम्बन्धमा चिसोपना देखिएको छ । नेपालसँगको सम्बन्ध सुधारको लागि भारतले कुटनीतिक सक्रियता बढाएको छ । यसैको कडीको रुपमा पछिल्ला भारतीय अधिकारीको नेपाल भ्रमणलाई लिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्