Logo

रुसको अध्यक्षतामा शाङ्घाई सहयोग संगठनको वार्षिक बैठक शुरु



२५ कात्तिक: शाङ्घाई सहयोग संगठन (एससिओ) का सदस्य राष्ट्रहरुको भर्चुअल बैठक रसियाको अध्यक्षतामा मंगलबार शुरु हुँदैछ ।

कोरोनाभाइरसका कारण क्षेत्रीय तथा विश्वव्यापी रुपमा व्यापक असर परिरहेको सन्दर्भमा एससिओको वार्षिक बैठकमा यी विषयमाथि नै प्रमुख रुपमा छलफल गर्नेछ । एससिओका सदस्य राष्ट्र एवं सरकार प्रमुख सहभागी हुने यो २०औं बैठक हो ।

बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा जारी सैनिक गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल गर्ने अनुमान गरिएको छ । दुबै देशबीच गत जुन महिनादेखि सीमा क्षेत्रमा तनावको स्थिति छ ।

भारतले भने एससिओ बैठकमा पूर्ण सदस्यका रुपमा भाग लिएको यो तेस्रो पटक हो । भारतलाई सन् २००५ मा पर्यवेक्षक तथा सन् २०१७ मा पूर्ण सदस्य बनाइएको थियो ।

बैठक समाप्त भएपछि मस्कोबाट संयुक्त वक्तव्य जारी हुनेछ ।

बैठकमा संगठनका सदस्य राष्ट्रहरुले सामना गर्नु परिरहेका समस्या तथा सहयोगका क्षेत्रहरुका बारेमा विचार विमर्श हुने स्पुटनिक समाचार समितिले जनाएको छ ।

बैठकमा सहभागी हुने अन्य नेताहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, मध्य एसियाली मुलुकहरु कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका नेताहरु रहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एससिओ बैठकमा द्विपक्षीय मामिला उठाउनु संगठनको सिद्धान्त विपरीत हुने बताउनु भएको छ । पाकिस्तानका प्रधानमन्त्रीको सम्बोधनप्रति अप्रत्यक्ष रुपमा असहमति जनाउँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय मामिलाका कुरा बैठकमा उठाउनु संगठनको भावना र सहमति विपरीतको कार्य हो भने ।

उनले संयुक्त राष्ट्रसंघले ७५ वर्ष पूरा गरिसकेको सन्दर्भमा यसलाई बदलिँदो विश्व परिवेश बमोजिम यसको संगठन संरचनामा परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिए ।–एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्