काठमाडौं, २६ कार्तिक। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको सचिवालय बैठक बोलाउने विषयलाई लिएर चर्काचर्की परेको छ । पछिल्लो समय अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्दै लिखित रुपमै आग्रह गरेका छन् ।
तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने आफू बैठकको विरोधी नभएको भन्दै विधानअनुसार बैठक बोलाउन बताउँदै आएका छन् । कार्यकारी अध्यक्ष दाहालसँगको भेटमा ओलीले विधानअनुसार नै बैठक बोलाईने स्पष्ट पारेको खुलेको छ । हिजो सचिवालयका ५ जनाको धुम्बाराहीमा अनौपचारिक बैठक बस्नुअघि पनि अध्यक्षद्धय ओली र दाहालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा दाहालले तत्काल बैठक राख्न आग्रह गरेका थिए ।
जवाफमा ओलीले विधानअनुसार १५ दिनभित्र बैठक बस्नुपर्ने भएकोले सोहीअनुसार आफूले जतिसक्दो चाँडै बैठक राख्ने कुरा प्रचण्डलाई सम्झाएका थिए । ओली तत्काल बैठक राख्ने पक्षमा नरहेको कुरा दाहालले अन्य नेताहरुलाई ब्रिफिङ गरेका छन् । दाहाल–नेपाल समूहमा सचिवालयका ५ जना नेताहरु छन् । उनीहरुले जतिसक्दो चाँडो सचिवालय बैठक बोलाउन माग गरेका छन् । यो बीचमा सचिवालयका ५ सदस्यहरु दुई पटक पार्टी मुख्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसेका छन् । File Photo




प्रतिक्रिया