Logo

ठाडाखानीको तामाखानी सञ्चालनमा ल्याउन स्थानीयको माग



म्याग्दी, कार्तिक २७ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने ठाडाखानी गाउँको शिरानमा पर्ने रुमले भीरमा रहेको तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा छ । १९७१ सालमा बन्द भएको यहाँको तामाखानी सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।

ठाडाखानीका स्थानीयवासी सुजन छन्त्यालले तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा रहदाँ समेत सञ्चालनमा ल्याउन स्थानीय सरकारले कुनै पहल नगरेको बताए । ‘हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं । तामाखानी सञ्चालन, मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच , केन्द्रीय लाइनको बिजुली लगायत धेरै सुविधा पाइन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘तर ३ वर्ष बितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्न वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गर्नेबाहेक अरू कामको पहल भएको छैन ।’

ठाडाखानी छन्त्याल र विकहरूको मात्र बसोवास रहेको बस्ती हो । यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विकका पुर्खा १०६ वर्ष पहिले रुमले भीरको तामा खनेर विक्री र अन्नसँग विनिमय गरी जीवनयापन गर्ने गरेको वयोवृद्धहरू बताउँछन् । तर तत्कालीन सरकारले अत्यधिक भेजा ९कर० लिन थालेपछि तामा खानी बन्द गरेर अन्य वैकल्पिक पेशातर्फ लाग्नुपरेको रघुगंगा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले बताए ।

उनका अनुसार यहाँ अझैसम्म पनि ५ ओटा सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट दुई मिटर भित्र छिर्ने हो भने तामाका विशाल धाउ देख्न सकिने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्