Logo

तीन करोड लगानीमा खुल्यो तरकारी तथा फलफूल बजार



चितवन, मंसिर ५। चितवनका तीन युवाको तीन करोड रुपैयाँको संयुक्त लगानीमा चितवनको भरतपुरमा तरकारी तथा फलफूल मण्डी स्थापना भएको छ । भरतपुर महानगर वडा–१० स्थित बाइपासरोडमा शम्भु थापा, सुजन दराई र कृष्ण अधिकारीको संयुक्त लगानीमा उक्त मण्डी सञ्चालनमा आएको हो ।

स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले मण्डी सञ्चालनमा ल्याइएको युवा उद्यमीले बताएका छन् । भरतपुर तरकारी तथा फलफूल प्रालिका अध्यक्ष शम्भु थापाले स्थानीय कृषकलाई प्रोत्साहित गरी उचित मूल्यमा खरिद गर्न सहज बनाउने उद्देश्यले मण्डी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार चितवनका सातै स्थानीय तहका कृषि उपजलाई सदुपयोग गर्ने र कृषि उत्पादन बढाउने संस्थाको उद्देश्य छ । ‘१४ वर्षको अनुभवका साथै चितवन कृषिका लागि हब भएकाले पनि यो अवधारणा ल्याएका हौं,’ अध्यक्ष थापाले भने ।

मण्डीमा १० हजार वर्गमिटरमध्ये ७ हजार वर्गमिटरमा ४४ वटा तरकारी तथा फलफूलका स्टल रहनेछन । यीमध्ये ३६ वटा तरकारी, ४ वटा फलफूल, १÷१ वटा अर्गानिक, दूध, बिउबिजनका रहनेछन् ।

तीन हजार वर्गमिटर क्षेत्रफलमा चामल, दाल, चिनी, तेल तथा गेडागुडीका स्टल रहने अध्यक्ष थापाले बताए । संस्थाले स्थानीय कृषकका साथै आफ्नै लगानीमा समेत कृषि उत्पादन गर्न जिल्लाका विभिन्न स्थानमा जग्गा भाडामा लिएर उत्पादन सुरु गरिसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्