Logo

संसद बिघटन र मध्यावधि चुनाव घोषणा यसरी रोकियो



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताइसकेका छन् । आफू अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट घेराबन्दीमा परेपछि ओलीले यस्तो अभिव्यक्ति दिएका थिए । हुनपनि ओली अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच हेभिवेटको मोर्चाको चुनौती सामना गरिरहेका छन् ।

ओलीसँग पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी तीनैवटामा बहुमत छैन । संसदीय दलमा बहुमत दाबी गरेपनि ओलीलाई त्यसमाथि भरोसा हुन छाडेको बुझिएको छ । पार्टीभित्र घेराबन्दी बढेको र त्यसलाई तोड्न नसकिरहेको अवस्थामा उनले कठोर कदम चाल्ने सम्मको तयारी गरेका थिए । त्यसका लागि शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीका अलावा हितचिन्तक र विश्वासपात्रहरुसँग परामर्श गर्दै आएका थिए । उनले भण्डारीसँग दुई हप्तामा तीनपटक शितलनिवासमै पुगेर छलफल गरे । यसलाई अर्थपूर्ण मानिएको छ ।

ओलीले सत्ता छाड्ने अवस्था आएमा बरु संसद बिघटनसम्म गर्ने रणनीति बनाएका थिए । उनले मध्यावधि चुनावको घोषणा गर्नेबारे समेत तयारी गरेका थिए । त्यस्तो अवस्थामा राजीनामा पनि दिनुनपर्ने र सत्तामा रहिरहने अवस्था बन्नसक्छ ।

पटक पटक सत्ता संकटको चुनौती सामना गर्ने दोहोराएका प्रधानमन्त्री ओली विरोधीहरुलाई अझै तर्साउने गतिविधि गर्दै आएका छन् । विगतमा सत्ता संकट आउँदा उनले दल विभाजन सजिलो पार्ने गरी अध्यादेश ल्याएका थिए । यसले उनका विरोधी तर्सिएका थिए । विश्वासपात्रहरुलाई लगाएर नेकपा एमाले दल दर्ता समेत गर्न लगाए । यसकारण पनि ओलीविरोधी मोर्चा तर्सियो ।

यसपटक ओलीले त्यस्तै परे संसद बिघटनसम्मको तयारी गरे । उनलाई राष्ट्रपति भण्डारीले यो कदम चाल्न रोकेको बुझिएको छ । कुनै हालतमा संसद बिघटनमा जान नहुने पक्षमा उनका केही विश्वासपात्रहरु पनि छन् ।

विगतमा गिरिजाप्रसाद कोइरालाले बहुमत सरकार हुँदाहुँदै संसद बिघटन गरी मध्यावधि चुनाव घोषणा गरेका थिए । चुनाव त भयो त्यसपछि काँग्रेस कमजोर भयो । यही इतिहास बुझेकाले नेकपाभित्र ओली पक्षधर पनि संसद बिघटनको विपक्षमा उभिए । ओलीले तत्काल संसद बिघटनसम्मको तयारीलाई रोकेका छन् । तर, उनले राजीनामा दिनुपरेमा यो कदम नचाल्लान् भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्