Logo

एआईजी बढुवा थाती राखेर डिआइजीमा बढुवा तयारी, दुई दर्जन एसएसपी प्रतिस्पर्धामा



काठमाडौं, ६ मंसिर । मन्त्रिपरिषद्बाट प्रहरीको ओएण्डएम प्रतिवेदन पास भएसँगै नेपाल प्रहरीमा बढुवाको दौडधुप सुरु भएको छ । मन्त्रिपरिषद्ले एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप गरेको छ ।

चलखेलका आधारमा व्यक्ति बिशेषका लागि एआईजीको दरबन्दी थप भएकाले तत्काल बढुवा प्रक्रिया अघि नबढाउने गृह मन्त्रालयको तयारी छ । डिआईजीबाट बढुवा प्रक्रिया अघि बढाउन लागिएको छ ।

थपिएको एआईजीमा बढुवा गर्दाृ डिआईजीका नौ पद रिक्त हुनेमा त्यसमा बढुवा नभए आठ पद मात्र रिक्त हुनेछन् । आठ पदमा दुई दर्जन एसएसपीबीच बढुवाको प्रतिस्पर्धा छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाका दाबेदार हुन् ।
उनीहरुमध्ये देवबहादुर बोहराले भीम रावलको पावर लगाएका छन् भने गणेश ऐरलाई प्रचण्डको साथ छ । यसअघिको बढुवामा ऐरलाई छुटाएको भन्दै प्रचण्ड रिसाएका थिए । शौरभ राणा हालै निलम्बन फुकुवा भएकाले उनको सम्भावना कमजोर छ । तर, पछिल्लो ब्याचका एसएसपीहरु यतिबेला शक्तिशाली छन् ।

पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । आफ्नो ब्याचबाट आईजिपीकै प्रतिस्पर्धीका रुपमा हेरिएका लोहनी सुन काण्डमा फसेपछि बढुवामा पछि परे । पूजा सिंह पूर्व राष्ट्रपति डा रामवरण यादबको पावर लगाएकी छिन् । तर, काभ्रेमा हुँदा आर्थिक अनियमितता गरेको घटनाले उनलाई समस्या हुने देखिन्छ । नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरुकोमा धाइरहेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पावरका भरमा डिआईजी हुने सपनामा छन् । मसाउद आलम खाँ मुस्लिम समुदायको व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै लबिङमा छन् । नल प्रसाद उपाध्यायले गृहमन्त्री बादलका छोरा प्रतिकसँग सेटिङ मिलाएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएकाले प्रचण्डको भर परेका एसएसपीहरु छुट्ने सम्भावना समेत देखिएको छ ।

प्रहरी समायोजन अघि नै बढुवा तथा सरुवा गर्नुपर्ने भएकाले छिट्टै बढुवाको निर्णय हुने सम्भावना छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्