Logo

तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ



पाँचथर, ६ मङ्सिर : जिल्लामा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका २९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् ।

शुक्रबार जिल्ला आएका उनले अलग अलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई वटा गाउँपालिकाका छ वटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रबार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो ।

जिल्लाको कुम्मायक – २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । त्यहाँ ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्राली काठमाडौँले रु छ करोड ९३ लाख ९४ हजार ४४५ को लागतमा विद्युतीकरणको काम सम्पन्न गरेको छ । विद्युत् विस्तारका लागि एचटी लाइन १२.७ किलोमिटर, एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार वटा ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिए ।

मिक्लाजुङ–१ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रालीले नै रु १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२.३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० वटा ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए ।

मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा त्यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु पाँच करोड १२ लाख ७९ हजार २९५ को लागतमा त्यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो । विद्युत् विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९.३२ किलोमिटर एलटी लाइन विस्तार गरिनुका साथै आठ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणिन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो । यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो । विद्युत् विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतीकरणको कार्य अगाडि बढाएका थिए । सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए ।

पछिल्लो पटक प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत पनि विद्युतीकरणको कार्य अगाडि बढाइएको छ । उनले शुक्रबार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सवस्टेशन निर्माणको शिलान्याससमेत गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्