Logo

वृद्धाश्रमलाई सहयोग



गण्डकी, ६ मङ्सिर: वैवाहिक जीवनको २५औँ वर्ष पार गरेका उपलक्ष्यमा त्यहाँको एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेको छ । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उनकी श्रीमती देवीले पोखरा वृद्धाश्रमलाई सहयोग गरेका हुन् ।

वैवाहिक वर्षगाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले रु १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री बुझ्दै अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको जनाउँदै बस्नेत दम्पतीलाई सहयोगका लागि आभार व्यक्त गरे । आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उनले समाजका असहाय एवं विपन्न वर्गका वृद्धवृद्धा र सेवकसेविका गरी आश्रममा हाल ५५ जना आबद्ध रहेको जानकारी दिए ।

प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आफ्ना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको रहेको छ । विस्ं २०५२ मा स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्