Logo

नेकपा विवादको असर, चितवनमा पाण्डेमाथि अभद्र ब्यवहार



काठमाडौं, ६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादको असर केन्द्र हुँदै जिल्लासम्म पुगेको छ । आज चितवनको राप्ती नगरपालिकामा नेकपा राप्ती नगरकमिटीले गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताहरुले होहल्ला गरेर बोल्न दिएका छैनन् ।

केन्द्रमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच अहिले दूरी बढेको छ । सचिवालयका बहुमत सदस्यहरु यतिवेला ओलीविरुद्ध मोर्चाबन्दी गरेका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा कित्तामा छन् । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा ओलीमाथि विभिन्न आरोप लगाईएको छ ।

उता, वरिष्ठ नेता माधव कुमार नेपालले भने पाण्डेमाथि भएको अभद्र ब्यवहारको निन्दा एवम् भर्त्सना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहारको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने/गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्