Logo

सुरेन्द्र पाण्डे चितवनमा बोलिरहँदा नारावाजी, माधव नेपाल आक्रोशित (भिडियोसहित)



काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध गृहनरगमै नारावाजी भएको छ । चितवनको अगुवा कार्यकर्ता भेलामा मन्तव्य राखिरहँदा उनीविरुद्ध नारावाजी भएको हो । त्यसपछि उनी बोल्न छाडेका थिए ।

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा अगुवा कार्यकर्ताको भेला चलिरहँदा पाण्डेले पार्टीभित्र मदन भण्डारी फाउन्डेशनका नाममा गुटबन्दी भएको बोलेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले नारावाजी गरेर कार्यक्रम बिथोलेका थिए । पटक पटक कार्यक्रमका उदघोषकले संयमित हुन आग्रह गरेपनि नारावाजी गर्नेहरु रोकिएनन् ।

ओली पक्षका कार्यकर्ताले ‘पार्टी एकता जीन्दावाद, पार्टी फुटाउन पाइँदैन’ भन्दै नारावाजी गरेका थिए । उनीहरुले पाण्डेलाई एकताविरोधीको आरोप समेत लगाए । कार्यक्रम भएको स्थान उनको निवास नजिकै पर्छ । पाण्डे चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनी पूर्व अर्थमन्त्री समेत हुन् ।

यसैगरी, पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा घटनालाई सुनुयोजित र अभद्र भन्दै कडा कारबाही गर्न ध्यानाकर्षण गराएका छन् ।

नेपालले लेखेका छन्ः ‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु,’ नेपालले भनेका छन्, ‘सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने/ गराउने जोसुकै भएपनि छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु।’-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्