Logo

नेकपा विवादः कतै कुटाकुट कतै आफ्नै नेताविरुद्ध नारावाजी



काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादको आगो केन्द्र हुँदै स्थानीय तहसम्म सल्किएको छ । केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्कालाई पदबाटै हटाउने संघर्षमा छन् । ओली र प्रचण्डबीचको गम्भीर आरोप प्रत्यारोप खराब अवस्थामा पुगेको छ । त्यसका असर तल्लो तहमा फैलिएको हो ।

पर्सामा गत महिना ओली र प्रचण्ड पक्षीय कार्यकर्ताबीच झडप हुँदा मुकेश चौरसियाको ज्यान गयो । यो घटनामा प्रचण्ड पक्षले गम्भीर आपत्ती जनायो । किटानी जाहेरी पनि प्रहरीले लिन नमानेपछि निकै विवाद भयो । यसले नेकपाभित्रको विवाद स्थानीय तहमा फैलिएको तथ्य समेत स्पष्ट भयो ।

आज नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध गृहनरगमै नारावाजी भयो । चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेलामा मन्तव्य राखिरहँदा उनीविरुद्ध नारावाजी भएपछि कार्यक्रम नै बिथोलिने अवस्था बन्यो । घटनामा ओली पक्षका कार्यकर्ता नारावाजीमा उत्रिए । पाण्डे ओलीविरुद्ध मोर्चामा रहेका माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।

ओली पक्षका कार्यकर्ताले पार्टी एकता जीन्दावाद, पार्टी फुटाउन पाइँदैन भन्दै नारावाजी गरेका थिए । उनीहरुले पाण्डेलाई एकताविरोधीको आरोप समेत लगाए । यस घटनापछि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पाण्डेविरुद्ध अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्नुपर्ने बताएका छन् । उनले अभद्र र अशिष्ट व्यवहार भनी टिप्पणी समेत गरे ।

यसरी नेकपाभित्रको विवाद गहिरिएर भुसको आगो भित्र भित्र सल्किएर भयावह रुप लिदैछ । यसलाई रोक्न केही नेताहरु लागिपरेपनि तल्लो तहमा फैलिएको आगोले गम्भीर रुप लिएको छ ।



प्रतिक्रिया दिनुहोस्