Logo

बालक रियानको उपचारमा समाजसेवी शोभा पाठकले जुटाइन् थप सहयोग



काठमाडौं, ८ मंसिर । यतिबेला दश महिने बालक रियान महरा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको न्युरोतर्फको आइसियु वार्डमा छन् । उनको तेस्रो चरणको टाउकाको शल्यक्रिया सफल भइसकेको छ । अब चौंथो चरणको शल्यक्रिया सफल भएपछि उनी सामान्य अवस्थामा हुनेछन् । यसअघि तेस्रो चरणको शल्यक्रिया आर्थिक अभावका कारण रोकिएपछि समाजसेवी शोभा पाठकले सहयोग गरेकी थिइन् ।

शोभाको सहयोगले बालक रियानको शल्यक्रिया भयो । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको उपचाररत चिकित्सकले जनाएका छन् । अब उनको चौंथो चरणको शल्यक्रियाका लागि पनि शोभाले सहयोग जुटाएकी छिन् । उनले आज जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुगेर बालकका आमाबाबुलाई १३ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेकी छिन् । उनले रियान र उनका आमाबाबुका लागि लत्ताकपडा समेत सहयोग गरेकी छिन् ।

एक महिनाभन्दा बढी समयदेखि कञ्चनपुरको कृष्णनगर नगरपालिका ९ राजघाटबाट छोराको उपचारका लागि रियानका आमाबाबु आइसियु वार्डको विरामी कुर्ने कोठामा छन् । उनीहरु जाडो बढेपनि लत्ताकपडा खरिद गर्न नसक्ने अवस्थाको भएकाले पाठकले उपलब्ध गराएकी हुन् । उनले बालकको जीवनरक्षाका लागि आज थप सहयोग गर्नेहरु अर्जुन गिरी, दिपेन्द्र तिमिल्सिना, दिपेश पुरी र शालिक सुवेदीलाई धन्यवाद दिइन् । बालक रियानको सहयोगका लागि बेलायत बस्ने दाजु बिनोद बरालले प्रेरित गरेको समेत बताइन् ।

आज समेत गरी रियानको लागि ८० हजार संकलन भइसकेको छ । नेपाल मेडिकल कलेजका स्टाफ नर्स र डाक्टरहरुले पनि सहयोग गरेका छन् । उनको अवस्थाबारे रिपोर्टर्स नेपाल डट कमले समाचार प्रकाशमा ल्याएपछि सहयोग जुट्ने क्रम चलिरहेको छ । सहयोगीहरुले बैंकमा समेत रकम जम्मा गरिदिएका छन् ।

काठमाडौं मेडिकल कलेजमा उपचारररत रियानका लागि सहयोग गर्न चाहनेले दीपा रोकायाको मोबाइल नम्बर ९८०६४७६४८६ र टेकबहादुर महराको नम्बर ९८२४५६७१९७ का अलावा समाजसेवी शोभा पाठकको सम्पर्क नम्बर ९८६०६७६४११ सम्पर्क गर्न सक्ने जनाइएको छ । सहयोगका लागि रियानकी आमा दीपा रोकायाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर ४२१०१००००२१९२०१० मा रकम जम्मा गर्न सकिनेछ । उनीहरु एक महिनायता जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आइसीयुको विरामी कुरुवा कोठामा छन् ।

 



प्रतिक्रिया दिनुहोस्