Logo

पाम तेल लयमा भटमास तेल



काठमाडौं, मंसिर ९। नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको मुख्य निर्यात बजार भारत थियो ।

मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर तयारी तेल भारत पठाउने व्यापार चक्रका बीच नेपालको निर्यातमा यसको निकै ठूलो योगदान देखियो । खुम्चिएको निर्यात व्यापारलाई केही भए पनि विस्तार गर्न पाम तेलको उल्लेख्य भूमिका रह्यो । नेपाल र भारतबीचको व्यापार सम्झौतामा भएको केही सुविधाजनक व्यवस्थाले पाम तेलको नेपालबाट निर्यात सम्भव बन्यो ।

पाम तेलजस्तै पछिल्लोपटक भटमास तेलको निर्यात पनि चम्केको छ । पाम तेल आयातमा भारतले लगाएको प्रतिबन्धका कारण चालू आर्थिक वर्ष २०७७÷७८ मा यसको उल्लेख्य निर्यात नभए पनि भटमास तेलको व्यापार चक्र भने यस्तै देखिएको छ ।

भन्सार विभागका अनुसार चालू आव २०७७÷७८ को कात्तिकसम्म नेपालले १० अर्ब २६ करोड रुपियाँको भटमास तेल निर्यात गरेको छ । यो चार महिनासम्म सबैभन्दा धेरै निर्यात भएको वस्तु पनि हो । कच्चाबाहेक सात करोड २३ लाख लिटर भटमास तेल भारत निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

भारतबाहेक अन्य देशमा यसको निर्यात देखिँदैन । आयातसम्बन्धी विभागकै तथ्याङ्कअनुसार यसबीचमा १० अर्ब आठ करोडको कच्चा भटमास नेपाल आयात भएको छ । १० करोड ६९ लाख लिटर आयात भएको कच्चा भटमासबाट नेपालले करिब एक अर्ब रुपियाँ भन्सार राजस्व पनि आम्दानी गरेको छ । कात्तिकसम्म आयात भएका प्रमुख वस्तुमध्ये कच्चा भटमास शीर्ष चारमा छ ।

भटमास तेलको आयात र निर्यातको यो चम्किलो अङ्क पनि भारतकै व्यापार नीतिका कारण भएको सम्बद्ध उद्योगी बताउँछन् । पाम तेलमा जस्तै तेस्रो देशबाट भटमास आयातमा भारतले लगाउने भन्सार महसुल बढी हुँदा नेपालले भारतसँगको व्यापार सम्झौताको लाभ लिएको उनीहरूको रहेको आजके गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्