Logo

प्रधानमन्त्रीले भनेको कुरा सत्य हो, सरकार ढल्दैन् : विष्णु रिमाल



काठमाडौं, ९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कार्यकारी अध्यक्ष पुष्कमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ प्रधानमन्त्री ओलीले दिने स्पष्ट पारेका छन् । पार्टीको मान्यताअनुसार अध्यक्षले एक्ला एक्लै प्रस्ताव ल्याउने चलन नभएको उनले स्पष्ट पारे । उनले दाहालले ल्याएको प्रस्ताव पार्टीको नहुने जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमाथि प्रधानमन्त्री ओलीले जवाफ दिने पनि सुनाए ।

उनले भने,‘प्रधानमन्त्री ओलीले जवाफ ल्याउने वा प्रस्ताव पेश गर्ने कुरा अध्यक्षको रुपमा ल्याउने हो नि ।’ आफूहरुको काम भनेको पार्टीमा विग्रह ल्याउने नभएकोले पार्टीभित्र ल्याईने कुराहरु विधिसम्मत रुपमा आउनुपर्नेमा जोड दिएका छन् । प्रचण्डले ल्याएको प्रस्ताव विधिसम्मत नभएको उनको भनाई छ ।
नेताहरुले आफ्नै साथीहरुमाथि आरोप लगाउँदापनि पुष्टि हुनेगरि लगाउनुपर्ने उनको भनाई छ । ‘कसले कसलाई कारबाही गर्ने ? भन्ने कुरा भोलिको कुरा हो । हामीले संख्याको हिसाबले एकता गरेको होईन नि ।’–उनले भने । पार्टीलाई सम्हालेर लैजाने हो भने नेताहरुपनि जिम्मेवार भएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार कुनैपनि हालतमा नढल्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्